यसकारण धुम्बाराहीओलीले बोलाएनन झलनाथ खनाललाई,

रामेछाप खबर संवाददाता

काठमाडौं, २ चैत्र ।

नेकपा एमालेको विभाजन रोक्न सोमबार भएको प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीचको वार्तामा अर्का वरिष्ठ नेता झलनाथ खनाल देखिएनन्। पछिल्लो समय दुई समूहमा विभाजित नेकपा एमालेका शीर्ष नेताहरुबीच पार्टी कार्यालय धुम्बाराहीमा भएको बैठकमा नेता खनाल नदेखिएपछि धेरैलाई चासो भयो।

नेकपा विभाजित हुँदा माधवसँगै पुष्पकमल दाहाल प्रचण्डतिर लागेर सर्वोच्च अदालतको फैसलापछि साविकको एमालेमै फर्किएका उनी पार्टी अध्यक्ष ओलीले नबोलाएका कारण नगएको बताएका छन्।

नेपाल समूहका हरेक बैठकमा भाग लिँदै आएका उनी बिहान होटल अर्यालको परामर्श बैठकमा पनि सहभागी थिए। तर त्यहाँबाट नेता नेपाल आफ्ना सहयोगीसहित धुम्बाराही पुगे, जहाँ झलनाथ भने थिएनन्।

उनले आफुलाई ओलीले नबोलाएका कारण बैठकमा नगएको बताएका छन्। ओलीले नडाकेको बारेमा उनले होटल अर्यालमा नेपालसँग पनि कुरा गरेको स्रोतले बताएको छ। केपी ओली र माधव नेपालबीच करिब ४ महिनापछि आज भेटवार्ता भएको हो । उक्त भेटवार्ता सकारात्मक भए पनि दुवै पक्षले आफ्नो अडान छाडेका छैनन्।