मैले बैठक जहाँ बोलाउँछु, माधव-झलनाथ त्यहीँ आउनुपर्छ’ : प्रधानमन्त्री ओली

रामेछाप खबर संवाददाता

काठमाडौं, २ चैत्र ।

काठमाडौं, । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टीको बैठक जहाँ बोलाएपनि त्यहाँ सबै नेताहरु आउनुपर्ने बताएका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले पार्टीको केन्द्रीय कमिटीको बैठक यही चैत्र ७ गते बालुवाटारमा बोलाएकोले सबैलाई आउन निर्देशन दिएका छन् ।

तर, वरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनालहरुले त बालुवाटारमा बोलाईएको बैठकमा कुनैपनि हालतमा नजाने भनेर भनिसक्नुभएको छ नि ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले भने,”बैठक मैले जहाँ बोलाउँछु, त्यहीँ हुन्छ । बालुवाटारको बैठकमा नआउनेहरु पेरिसडाँडा जानुहोस न त । सर्वोच्च अदालतले पनि तिम्रो पार्टी बालुवाटारमा छ भन्दिएको छ । पार्टीको बैठकमा आउनुपर्यो नि । बैठकमा आउनुपर्यो अनि गल्ती भयो, त्रुटि भयो भनेर महसुस गर्नुप्यो ।”

मैले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन प्रस्ताव राखेकै छैन् : प्रधानमन्त्री ओली
काठमाडौं, । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टी, नेपालका नेताहरुसँग छलफल तथा सम्वाद भैरहेको स्पष्ट पारेका छन् । तर, आफूले जसपालाई सरकारको नेतृत्व गर्न भनेर कहिल्यैपनि प्रस्ताव नराखेको र नगरेको स्पष्ट पारेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो दाबी गरेका छन् ।

उनले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन आफूले कुनै प्रस्ताव नराखेको स्पष्ट पारेका छन् । उनले जनादेश त आफ्नो पार्टीले नै सरकारको नेतृत्व गर्नुपर्ने रहेको बताए । तर, केही केही नेताहरु प्रधानमन्त्री खाईदिनुपर्यो भनेर किस्तीमा राखेर प्रधानमन्त्रीको अफर गर्दै हिँडिरहेको भन्दै माधव नेपाल र प्रचण्डप्रति व्यंग्य कसे । उनले भने,”उहाँहरुले गुलाफको फूल घुँडा टेकेर प्रेम प्रस्ताव राखेझैं गर्नुभएको छ, तर अर्कोले स्विकार गर्नुपर्यो नि ।” उनले सरकारको नेतृत्व गर्ने हकवालाको हक खास्ने काम कसैले पनि गर्न नहुने बताए ।

मेरो र मोदीजीको केमेष्ट्री मिलेको छ : प्रधानमन्त्री ओली
काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले र आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको केमेष्ट्री मिलेको बताएका छन् । आफूले व्यवहारिक रुपमा नै नेपाल र भारतबीच समस्यारहित सुमधुर सम्बन्ध बनाउने प्रयास गरेको पनि प्रधानमन्त्री ओलीको भनाई छ ।

आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले भारतीय समकक्षी मोदीसँग कुराकानी भैरहेको पनि जनाएका छन् ।

उनले भारतसँग सुमधुर सम्बन्ध हुनुमा कुनै जादुको छडी नभएको भन्दै यसको लागि आफूले सार्थक प्रयास र पहल गरेको पनि स्पष्ट पारे । नेपाल-भारत द्धिपक्षीय सम्बन्ध सुमधुरको लागि दुवै तर्फबाट ईमानदार राजनीतिक प्रयासहरु भैरहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।