सत्तामा गइहाल्न हुँदैन, कांग्रेसलाई जनताको पहिलो पार्टी बनाउनुपर्छ : नेता पौडेल

रामेछाप खबर संवाददाता

काठमाडौं, २ चैत ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताएका छन् । सदरमुकाम कुश्माबजारमा सोमबार प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले संविधान र संसद्माथि हुने हमलाको सामना गर्नु कांग्रेसको मुख्य दायित्व हुने बताए ।

वरिष्ठ नेता पौडेलले कांग्रेस दोस्रो दल भएकाले प्रधानमन्त्रीविरुद्ध आफूले अविश्वास प्रस्ताव नलैजाने तर अरूले लगेमा साथ दिने स्पष्ट गरे । नेता पौडेलले विकृत राजनीतिको अन्त्यका लागि कांग्रेसले अहिलेको अवस्थामा नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सरकारका लागि पहल गर्नुपर्ने बताए ।

‘देशको हित गर्न कांग्रेस सरकारमा जान तयार हुनुपर्छ तर अन्य दलको बुइ चढेर सत्तामा गइहाल्न हुँदैनु पूर्वउपप्रधानमन्त्री पौडेलले भने, ‘अहिले सत्ताभन्दा पनि आफ्नो पार्टीलाई कसरी जनतासमक्ष लोकप्रिय बनाउने भन्नेमा लाग्नुपर्छ, कांग्रेस आन्तरिक किचलोमा फसेको छ, सबै मिलेर कांग्रेसलाई जनताको पहिलो पार्टी बनाउनुपर्छ ।’

फागुन २८ को निर्णय वैधानिक छैन, खारेज हुनुपर्छ : माधव नेपाल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीसँगको छलफलमा फागुन २८ गतेको बैठक वैधानिक नभएको र त्यसलाई शून्य अवस्थामा राख्नुपर्ने बताएका छन्। सोमबार बैठकबाट बाहिरिएपछि सञ्‍चारकर्मीसँग कुरा गर्दै नेता नेपालले आफूले राखेको विषय प्रधानमन्त्री ओलीलाई स्वीकार्य नभएको प्रतिक्रिया दिए।

‘हामी एउटै हौं’, उनले भने, ‘पूर्व एमाले जुन स्थानमा थियो संरचनाको हिसाबले पदाधिकारी, सदस्यहरुको हिसाबले फर्कौं । २८ गतेको बैठक वैधानिक छैन । त्यसलाई शून्य अवस्थामा पुर्‍याइदिऔं,उनले भने,’ सिंगो स्थितिको बारेमा बसेर छलफल गरौं भन्दा त्यो स्वीकार्य भएन।’

नेकपाका अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपाल पक्षबीच करिब २ घन्टा लामो छलफल चले पनि विवाद समाधानको निष्कर्ष भने केही निस्केको छैंन। छलफल सकारात्मक भएको दुवै पक्षका नेताहरूले बताएका छन्।

प्रधानमन्त्री ओलीले छलफलका लागि नेपाल पक्षलाई बालुवाटार बोलाएका थिए । तर, नेपाल पक्षले बालुवाटार नजाने अडान लिएपछि प्रधानमन्त्री ओली धुम्वाराही आएका थिए।

पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ सहभागी भएका थिए। अर्को समूहबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्तलगायत सहभागी भएपनि वरिष्ठ नेता झलनाथ खनाल भने उपस्थित भएनन्।

अध्यक्ष ओलीले यही चैत ७ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् भने नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्दै छ । दुवै पक्षले फरकफरक रुपमा भेला र बैठक आयोजना गर्दा विभाजन झन् जटिल हुने खतरा देखिएपछि दुवैतिरका तटस्थ नेताहरूको पहलमा धुम्बाराही बैठकको पहल गरिएको हो। धुम्बाराही बैठकपछि दुवै पक्षका नेताहरू समझदारी र एकताको खाका कोर्न आन्तरिक गृहकार्यमा व्यस्त भएका छन्। प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच करिब ४ महिनापछि भेटवार्ता भएको हो।