२८ गतेको मात्रै होइन, अर्याल होटेलका कुरा पनि छन् : पोखरेल

रामेछाप खबर संवाददाता

काठमाडौं, २ चैत्र ।

काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले छलफल जारी रहने बताएका छन् । आज पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालसहित दोस्रो तहका नेताहरुबीच भएको छलफलपछि उनले यस्तो बताएका हुन् ।

गएको फागुन २८ गतेको निर्णय फिर्ता लिन ओली किन तयार नभएको ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, “२८ गतेको मात्रै होइन, यसबीचमा विभिन्न गतिविधि भएका छन् । अर्याल होटेलमा भएका छन् । ४ गते र ७ गतेका बैठकका अनेक विषयहरु छन् ।”

ओली पक्षले फागुन २८ गते २३ जनालाई केन्द्रीय कमिटीमा मनोनयन गरेको थियो । त्यसपछि अर्याल होटेलमा नेपाल पक्षको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बसेको थियो । बैठकले समानान्तर कमिटी बनाएको थियो । आजको छलफलमा गएको कात्तिक २८ गते तत्कालीन नेकपा सचिवालय बैठकमा प्रस्तुत भएको १९ पृष्ठको आरोपपत्रको विषय पनि उठेको उनले बताए ।

पूर्वअर्थमन्त्री डा महत र विश्व बैंकका अधिकारीबीच परामर्श

काठमाडौँ: पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा रामशरण महत र विश्व बैंकका नेपाल हेर्ने राष्ट्रिय निर्देशक फरिस हदाद जेरभोसबीच छलफल तथा परामर्श भएको छ । नेपालका विकास गतिविधिहरु र प्राथमिकता बारे छलफल तथा परामर्शका लागि विश्व बैंकका पदाधिकारीहरु सोमबार डा महतको निवासमा पुगेका थिए ।

भेटका अवसरमा नेपालको पछिल्लो आर्थिक विकास परिदृश्यबारे छलफल भएको थियो । साथै आगामी दिनमा नेपालका विकासका प्राथमिकताहरुका बारेमा पनि सो अवसरमा छलफल भएको जनाइएको छ ।

जेरभोस नेपालका साथै बर्मा र श्रीलंकाका लागि पनि राष्ट्रिय निर्देशक हुन् । छलफलमा नेपालका साथै बर्मा र श्रीलंका समेत हेर्ने सञ्चालन प्रवन्धक लादा स्ट्रेलकोभा लगायत विश्व बैंकका स्थानीय अधिकारीहरु समेत सहभागी थिए ।