सकियो माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक, के के भयो निर्णय ?

रामेछाप खबर संवाददाता

काठमाडौं, १ चैत्र ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक विभिन्न ६ वटा एजेण्डाहरु तय गर्दै स्थगित गरिएको छ । आजको बैठकमा पार्टीको वर्तमान अवस्थाका बारेमा प्रदेश कमिटीका इन्चार्ज तथा सहइन्चार्जहरुले रिपोर्टिङ गरेका छन् । जसअनुसार प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेको माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै आजको बैठकले विभिन्न ६ वटा एजेण्डाहरु तय गरेको छ । जसमा पार्टी कमिटीबाट रिपोर्टिङ गर्ने देखि पार्टीको नाम परिवर्तन गर्नेसम्मका एजेण्डाहरु तय भएका छन् । आजको बैठकले शहीदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र विधि एजेण्डा तय गरिएको हो ।

त्यस्तै भोली बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले आ(आफ्नो धारणाहरु राख्ने नेता श्रेष्ठले बताए । नेकपा माओवादी केन्द्रको अर्को बैठक भोलि ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ ।