महिला पीडामा हुँदा पुरुष खुसी हुन सक्छन् र?

रामेछाप खबर संवाददाता

काठमाडौं, १ चैत्र ।

सतही दृष्टिकोण राख्नेहरूले महिलाको अवस्थामा आमूल परिवर्तन आएको बारे वकालत गर्लान् तर दूर दराजको ग्रामीण इलाकाहरुमा र सहरमै पनि कयौँ महिलाहरु नारकीय जीवन बिताउन बाध्य छन्। अझैसम्म पनि यौन हिंसा, बेचबिखन, भूर्णहत्या जस्ता सयौँ प्रकारका दुष्चक्रबाट उम्किन सकेका छैनन्।

नेपाल लगायत संसारका सबैजसो प्रजातान्त्रिक मुलुकका संविधानले महिलालाई समानताको हक दिइसक्दा पनि पितृसत्ता रूपी सिस्टमको जरामा समाज यति बिघ्न जेलिएको छ कि पुरुषलाई उत्तम र महिलालाई कमसल मान्ने उसको दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन।

मलाई लाग्छ हामी सबैले दुई/तीन वटा कुरा बुझ्न जरुरी छ। पहिलो पितृसत्ता पुरुषको दोष होइन, ऊ त यस सिस्टमको एउटा अंश अर्थात् हिस्सा मात्र हो। दोस्रो पितृसत्ताकै कारण निर्णय निर्माण र तेस्रो विचार निर्माण जसको दुरुपयोग गरेर उसले महिलामाथि नियन्त्रण र थिचोमिचोलाई निरन्तरता दिइआएको छ।

तेस्रो र सबैभन्दा महत्तवपूर्ण कुरा पितृसत्ताले महिलालाई बर्बाद गरेको छ भनी हामी सोच्छौँ भने पुरुषलाई पनि यसले आवाद भने गरेको छैन।

यही सिस्टम हो जसले पुरुषलाई बलात्कारी, अपराधी, हत्यारा, परापीडामा रमाउने, शरीरलाई हतियारको रुपमा प्रयोग गर्ने, अहंकारी राक्षस बनाएको छ। उसलाई मानवताबाट विमुख गरेको छ।

के झण्डै आधा आबादी यसरी स्खलित भएको समाज खुसी र सुखी हुनसक्छ? त्यसको कल्पना पनि गर्न सकिदैँन। जहाँ आधा धर्ती ढाकेका महिलाहरु हिंसा र पीडामा आँसु बगाउन बाध्य छन्, जहाँ छोरीचेली र आमाहरूको अपमान हुन्छ, त्यस धर्तीमा पुरुषपनि खुसी र सुखी रहन सक्दैन।

फेरि लैंगिक समानताको लडाइँ ‘जिरो सम गेम’ होइन जहाँ महिलाको जित हुन्छ, पुरुष खत्तम। यो त विन-विन सिच्वेसन हो। मैले यसलाई जितको गोरेटो भन्ने गरेकी छु जसमा महिला, पुरुष र समाज तीनवटै पक्षको जित हुन्छ।

इतिहास साक्षी छ लैंगिक समानता कायम भएको समाज नै विकास र समृद्धिका दिशामा अघि बढेको छ। त्यस कारण महिला अधिकारकर्मी र केही असल पुरुषहरूले यहाँसम्म ल्याइपुर्याएको यस आन्दोलनको नेतृत्व अब संगठित रुपमा पुरुषले समेत लिन आवश्यक छ।

महिलासँग काँधमा काँध मिलाई यो आन्दोलनलाई निष्कर्षमा पुर्याउन जरुरी छ। अब पुरुषहरूले घरको शकुन र मानवताको रक्षा गर्न पावरको पछाडि भाग्न छोडेर पावर अफ लभ बुझ्न जरुरी छ।

महिला र पुरुष एकअर्काका पूरक हौँ भन्ने वास्तविकतालाई मनन गरी यस्तो समाज बनाउन जरुरी छ, जहाँ महिला र पुरुष दुवै समान महत्त्वका साथ हुर्कन सकून् र सडकमा निर्धक्क निस्कन सकून्, संविधानको इज्जत गर्न सकून् जसले भन्छ ‘हामी सबै बराबर हौँ।’