यसकारण फुटको संघारमा एमाले !

रामेछाप खबर संवाददाता

काठमाडौं, १ चैत्र ।

नेकपा एमाले फुटको संघारमा पुगेको छ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार माधवकुमार नेपाल समूहका केही नेतालाई पार्टीभित्रको जिम्मेवारीबाट मुक्त गरिदिएपछि त्यसले एमालेभित्र एउटा तरङ्ग ल्याइदिएको छ ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम विवादलाई किनारा लगाउँदै सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूताईदिएपछि माधवकुमार नेपाल र झलनाथ खनालसहित अन्य नेता तथा कार्यकर्ताले पुष्पकमल दाहाल प्रचण्डसँगको सहकार्य छोडेर एमालेमै फर्किनुपर्ने परिस्थिति उत्पन्न भएको थियो । अदालतको आदेशपछि नेकपा एमाले पहिलाको अवस्थामा फर्के पनि अब एक ढिक्का भएर अघि बढ्ने अवस्था छैन ।

शुक्रबार प्रधानमन्त्रीले बालुवाटारमा केन्द्रीय समितिको बैठक बसी विभागीय प्रमुख तथा प्रदेश इन्चार्ज रहेका नेपाल समूहका नेताहरूलाई जिम्मेवारीबाट हटाई माओवादी केन्द्रबाट आएका करिब दुई दर्जन नेतालाई केन्द्रीय समितिमा मनोनीत गरेका थिए ।

ओली समूहका नेताले पार्टीलाई सुदृढ बनाउने उद्देश्यले ‘जिम्मेवारीमा फेरबदल’ गरिएको तर्क गरिरहेका छन् भने नेपाल र खनाल समूहले ‘विधानविपरीत’ कदम भनिरहेको छ ।

त्यसको भोलिपल्ट अर्थात् शनिवार दिउँसो बसेको नेपाल–खनाल समूहको बैठकले पनि ओलीलाई चुनौती दिँदै समानान्तर कमिटी सकेत विस्तार गरेको छ । साथै सो समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय समेत गरेको छ । यस्तो अवस्थामा अब एमाले एकीकृत भएर अघि बढ्ने अवस्था देखिँदैन । एकले अर्कालाई सकाउने अवस्था सिर्जना भयो भन्ने बुझनलाई गाह्रो छैन ।