नेकपा एमाले मेरो हो, केन्द्रीय कमिटीले गरेको निर्णय मान्छु : झलनाथ खनाल

रामेछाप खबर संवाददाता

काठमाडौं, १ चैत्र ।

नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । उनले पार्टीको विधान मान्छु भनेर सपथ खाएको कुरा कसैले पनि भुल्न नहुने पनि बताए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले पार्टीलाई एकताबद्ध बनाउनको लागि आफूहरुले अन्तिम कोशिस गर्ने विश्वास दिलाए ।

नेता खनालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको चैत्र ७ गतेको केन्द्रीय कमिटी बैठकमा जाने वा नजाने भन्नेबारे नेता तथा कार्यकर्ताहरुसँग सल्लाह गरेर निर्णय गर्ने जनाए । अगुवा कार्यकर्ताहरुको भेलामा आएको राय र सुझावहरुलाई आत्मसात् गर्ने उनको भनाई छ । अध्यक्ष ओली पार्टीको नीति, विधान र भावनाअनुसार नचलेको उनको आरोप छ ।

ओलीसँग सहकार्य हुनसक्छ : कर्ण

जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले आफ्नो पार्टी सबैसँग छलफलमा रहेकोले अहिले नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सँग निरन्तर छलफलमा रहेको बताएका छन् । आफूहरुले अघि सारेका माग र मुद्दा सम्बोधन हुनुपर्ने आफूहरुको मुख्य एजेण्डा रहेको पनि उनले सुनाए ।

शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा नेता कर्णले आफूहरुसँगको छलफलमा प्रधानमन्त्री ओली सकारात्मक रहेको पनि प्रतिक्रिया दिए । उनले भने, ‘हाम्रो माग र मुद्दामा उहाँले म सकारात्मक छु भन्नुभएको छ । तर, ठोस सहमति भएको छैन । उहाँले मुद्दा फिर्ता र कैदी बन्दी रिहाईको लागि संविधान र कानुनअनुसार अघि बढ्ने प्रतिक्रिया दिनुभएको छ ।’

उनले आफूहरुले अहिले नै प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने भनेर नभनेको पनि सुनाए । उनले भने, ‘हाम्रो माग पूरा गर्नुभयो भने समर्थन हुन्छ । तर, उहाँहरुको एउटै पार्टीमा पनि एकरुपता छैन । अहिले हामीले घटनाक्रमलाई बडो नजिकबाट हेरिराखेका छौं । दुई÷चार दिनभित्र बैठक बसेर यस सम्बन्धमा निर्णय लिन्छौं ।’

उनले केपी ओलीलाई आफूहरुले कुनै भेदभाव नगर्ने पनि टिप्पणी गरे । उनले प्रधानमन्त्री ओलीले आफूहरुलाई सरकारमा सहभागी हुन वा समर्थन गर्न आग्रह गरेको पनि जानकारी दिए । उनले आफूहरु संसदको पूरा कार्यकाल नै संसद चल्नुपर्छ भन्ने पक्षमा रहेको सुनाए ।