ओलीको साथ कुनै हालतमा छाडिन्न, माओवादीमा फर्किन्न: उर्जामन्त्री रायमाझी

रामेछाप खबर संवाददाता

काठमाडौँ, २९ फागुन ।

नेकपा (एमाले)का मनोनित केन्द्रीय सदस्य तथा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीले आफ्नो सांसद र मन्त्री पद गए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने जिकिर गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता रायमाझीले यस्तो बताएका हुन् । सही बिचार, सिद्धान्त र निष्ठाको राजनीति प्रधानमन्त्री ओलीसँग रहेकोले ओलीको साथ आफूहरुले कुनै पनि हालतमा नछाड्ने बताए ।

‘मन्त्री र सांसद पद जान्छ भन्ने हामीलाई चिन्ताको विषय होईन, ज्यान त छँदैछ नि । हामीलाई केही चिन्ता छैन’ रायमाझीले भने ।

देश विकास र समृद्धिको लागि सही एजेण्डा बोकेकोले आफूहरु एमाले पार्टीभन्दा पनि ओलीको बिचारको पछि लागेको रायमाझीको भनाइ थियो । यस्तै मन्त्री रायमाझीले अब आफूहरु कुनै पनि हालतमा नेकपा (माओवादी केन्द्र)मा नफर्किने ठोकुवा गरे । यस्तै माओवादी केन्द्रलाई उनले ‘जलिसकेको डोरी’को संज्ञा समेत दिए ।

यस्तै तत्कालिन माओवादी जनमुक्ति सेनाको क्यान्टोनमेन्टको हिनामिना भएको भनिएको १९ अर्बबारे प्रश्न उठ्दा आफूहरुले यसबारे खोजी र अध्ययन गरिरहेको पनि नेता रायमाझीले बताए ।

‘हामी त्यसको अध्ययनमा छौं । अब त्यो विभिन्न निकायबाट खोजी नीति होला, प्रश्न उठेको छ । त्यसको औचित्य र आवश्यकताको आधारमा त्यसलाई अगाडि बढ्छ होला ।’