अन्तिम समयमा आएर यसकारण बालुवाटार गएनन् बाबुराम

रामेछाप खबर संवाददाता

काठमाडौँ, २८ फागुन ।

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पार्टीका अन्य नेतासँगै अपराह्न ५ बजे बालुवाटार जाने भनिए पनि अन्तिम समयमा आएर उनले आफ्नो योजना परिवर्तन गरेका छन् ।

जसपा नेपालको बिहीबार बसेको पदाधिकारी बैठकले राजनीतिक दलहरुसँग उच्च तहमा संवाद गर्ने निर्णयसँगै जसपाका शीर्ष नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार गएका हुन् ।

जसपाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई लगायत अपराह्न पाँच बजे बालुवाटार जाने तय भइसके पनि अन्तिम समयमा आएर डा. भट्टराई बालुवाटार नगएका हुन् । उनी स्वास्थ्य समस्याका कारण बालुवाटार नगएको स्रोतले जनाएको छ । दिनभर पार्टीको बैठक तथा अन्य भेटवार्ताका कारण धपेडी भएका कारण उनले बालुवाटार जाने कार्यक्रम रद्द गरेको बताइन्छ ।
पार्टीका अन्य नेताहरु गएको अवस्थामा आफू गइरहन त्यति जरुरीसमेत नरहेको भन्दै डा. भट्टराईले पार्टीका नेताहरुसँगकै सल्लाहअनुसार बालुवाटार नजाने निधो गरेको जसपा नेपाल स्रोतले जनायो ।

जसपा संसदीय दलको नेतामा महन्थ ठाकुरलाई चयन गर्ने तयारी !

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय बैठक बिहीबारका लागि बोलाइएको छ । सो बैठकले अध्यक्ष महन्थ ठाकुरलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको पार्टी स्रोतले जनाएको छ ।
सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा संसदीय दलको नेता चयनको एजेण्डा छ । राजपा र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म पनि संसदीय दलको नेता चयन गर्न नसकेको अवस्थामा आज बस्ने बैठकले नेता चयनको तयारी गराएको छ ।

पार्टी स्रोतका अनुसार अहिलेसम्म संसदीय दलको बैठकको अध्यक्षता गर्दै आएका पार्टीका अध्यक्ष ठाकुरलाई दलको नेता चयन गर्नेगरी तयारी अगाडि बढेको छ। यद्यपि दलको नेतामा अध्यक्ष उपेन्द्र यादवसहित संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो समेतले दावी गर्दै आएका छन् ।

अहिलेसम्म उनीहरुले खुलेर पार्टी बैठकमा आफ्नो दावेदारी प्रस्तुत नगरेको स्रोतको भनाइ छ । जसपाको ३४ सांसद मध्ये बहुमत सांसद ठाकुरको पक्षमा रहेको दावी गरिनुले पनि उनको सम्भावना बलियो रहेको नेताहरुको भनाइ छ ।