फेरी भेटियो बर्ड फ्लु, सचेत रहन आग्रह

रामेछाप खबर संवाददाता

काठमाडौं, २६ फागुन ।

कर्णाली प्रदेशमा पनि बर्ड फ्लु भेटिएको छ । जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ३ सियाँलाका किसानले पालेका लेयर्स कुखुरामा बर्ड फ्लु पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरर्गतको पशु सेवा विभागले जनाएको छ ।

यसअघि गएको महिना काठमाण्डौको तारकेश्वर नगरपालिका, सुर्खेत र वीरेन्द्रनगरपालिकामा रहेका पन्छीमा बर्डफ्लु देखिएको थियो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा भेरी नगरपालिका वडा नम्बर ३ सियाँलाका किसानले पालेका लेयर्स कुखुरामा पनि बर्डफ्लु भेटिएको हो ।

रोग देखिएका क्षेत्रमा रहेका ३ सय ब्रोइलर कुखुरा, ३ सय ३१ लेयर्स कुखुरा, ७० लोकल कुखुरा, ८ सय ८३ अण्डा र २ सय ५१ किलो दाना र २ सय वटा अण्डाको क्रेट नष्ट गरिएको छ । यस्तै रोग देखा परेको ठाउँलाई पूर्ण नीसंक्रमणसमेत गरिएको छ ।

४ जनाले लिए माउन्ट नुप्त्सेको आरोहण स्वीकृति

काठमाडौं । वसन्त ऋतुका लागि पहिलो पटक माउन्ट नुप्त्से (७,८६४ मि) को आरोहणका लागि ४ जना आरोहीहरूले पर्यटन विभागबाट स्वीकृति लिएका छन् । विभागका अनुसार गत मंगलबार मात्र ४ जनाको टोलीमा आएको एक समूहले माउन्ट नुप्त्सेको आरोहणको स्वीकृति लिएका हुन् ।

विभागका अनुसार यो नै यो सिजनका लागि आएको पहिलो हिमाल आरोहणको मागमा स्वीकृति हो । जसबाट २ हजार ४ सय अमेरिकी डलर अर्थात् २ लाख ७९ हजार २ सय ४० रुपैयाँ राजस्व संकलन भएको छ । त्यसो त हिउँदे सिजन (डिसेम्बर–फेब्रुअरी) का लागि विभिन्न ६–७ वटा हिमाल आरोहणका लागि कुल ४५ जनाले विभागबाट स्वीकृति लिएकोमा माउन्ट नुप्त्सेका लागि भने एक जनाको पनि आरोहणको माग परेको थिएन ।

सो समयमा माउन्ट लुजा पिक(५,७२६ मि), माउन्ट कुन्जिय री २ (६,५०६ मि), माउन्ट आमलंद, सुर्मा सरोभर, माउन्ट रोकपी, मनास्लु, थापा पिकं, चोमोलुङ लगायतका हिमाल आरोहणका लागि विभागबाट स्वीकृती भएको थियो ।
जसबाट राज्यलाई कुल ८ लाख ९६ हजार ५ रुपैयाँ राजस्व उठेको छ ।