सिमेन्ट बोकेको ट्रक त्रिशुली नदीमा खस्यो, चालक र सहचालकको मृत्यु

रामेछाप खबर संवाददाता

काठमाडौं ,२५ फागुन ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाटमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सिमेन्ट बोकेर काठमाडौं आउँदै गरेको ट्रक बेनीघाट रोराङ गाउँपालिकाको वडानम्बर १० अन्तर्गत पर्ने बेनीघाटबाट त्रिशुली नदीमा खस्दा २ जनाको मृत्यु भएको हो ।

रुपन्देहीबाट सिमेन्ट बोकेर काठमाडौं आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशुली नदीमा खस्दा चालक र सहचालक गरी २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ट्रकका चालक काभ्रेको बनेपा नगरपालिकाअन्तर्गत नाला घर भएका ४५ वर्षीय विष्णु घिमिरे र सोही ठाउँ घर भएका सहचालक २८ वर्षीय समुन सञ्जेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) भोजराज पाण्डेले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बलको टोलीले चालक र सहचालकको शव निकालेर पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाएको जनाइएको छ ।

सिमेन्ट बोकेको ट्रक मंगलबार बिहान त्रिशुली नदीमा खसेको प्रहरीको भनाइ छ । दुर्घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको इन्सपेक्टर पाण्डेले जानकारी दिए ।