सर्वाेच्च अदालतको फैसलाबाट रमाइरहेको ओली समूहलाई प्रचण्डकी छोरी गंगा दाहालको चेतावनी

रामेछाप खबर संवाददाता

काठमाडौँ ,२५ फागुन ।
नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले नेकपा बदर गर्ने सर्वाेच्च अदालतको फैसलाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले देशभर खुसियाली मनाइरहेको टिप्पणी गरेकी छन्। यसबाट केपी ओलीले प्रधानमन्त्री बन्नकै लागि पार्टी एकताको नाटक रचेको पुष्टि भएको दाबी पनि उनले गरेकी छन्।

‘केपी ओलीको चाहना पूरा भएको छ। आज पार्टी विभाजन भएको खुसियालीमा देशभर हर्षोल्लास मनाइरहेका छन्,’ दाहालले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘आज पुष्टि नै भएको छ कि प्रधानमन्त्री हुनकै लागि पार्टी एकताको नाटक रचिएको रहेछ।’ चेतावनी दिँदै उनले अगाडि लेखेकी छन्, ‘नेपाली जनताले यसको हिसाब पक्कै राख्ने छ !’

याे पनि : एमाले ब्युँतिएपछि ओली समूहका अरू रमाइरहेका बेला शंकर पोखरेल खासै खुसी देखिएनन्

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को दर्ता खारेज गर्ने सर्वाेच्च अदालतको फैसलाप्रति प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता हर्षित भइरहेका बेला एमाले खेमाकै नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल भने खासै खुसी देखिएका छैनन्।

निर्वाचन आयोगमा पहिल्यै दर्ता ऋषि कट्टेलको नेकपालाई कानुनी मान्यता दिँदै सत्तारूढ नेकपालाई चाहिँ बदर गर्ने फैसला अदालतले आइतबार सुनाएको हो। साथै तत्कालीन एमाले र माओवादी केन्द्र नै अस्तित्वमा रहेको भनिएपछि अहिले ओली समूहका एकपछि अर्का नेताले खुसी व्यक्त गरिरहेका छन्।

तर पूर्वएमाले हाल नेकपाका नेता एवं मुख्यमन्त्री पोखरेलले भने मध्यमार्गी विचार राखेका हुन्। ‘नेतृत्वको स्वार्थी टकरावले एकताको मर्म मरेकै थियो। सर्वोच्चको फैसलाले आत्मसमीक्षाको ठाउँ दिएको छ,’ सोमबार बिहान सामाजिक सञ्जालमार्फत पोखरेलले भनेका छन्, ‘जिम्मेवार बनौं।’