‘‘महिलाहरूले बगाएका आँशु जोड्ने हो भने एउटा खोला बन्थ्यो’’

रामेछाप खबर संवाददाता

काठमाडौँ ,२४ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथिको भेदभावलाई असभ्यता बताएका छन्। १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्ता असम्यताहरू दण्डनीय भएको बताए। “महिलामाथिको भेदभाव असभ्यता हो। कसैले महिलालाई अपमान गरेर आफ्नो कद बढेको ठान्छ भन्‍ने त्यो असभ्य रहेछ भन्‍ने बुझ्नु पर्छ,” प्रधानमन्त्री ओलीले भने, “आफ्नै आमा माथि गरिने अपमान, महिला माथि गरिने अपमान असभ्य हो।”

मानिसले डिग्री र ओहोदा प्राप्त गरे पनि सभ्यता धारण गर्न नसकेको हुनसक्ने उनले बताए। “यस्तो असभ्य व्यवहार गर्नु अपराध हो। यसको अन्त्य गर्नुपर्छ। अन्त्य गर्न नमाने दण्डनीय हुन्छ,” प्रधानमन्त्रीले भने। महिलाहरूमाथिको विभेद, अपमान, शोषण असभ्यताबाट पैदा हुने उनले बताए। यस्तो असभ्यता सामाजिक फौजदारी अभियोग लाग्ने अपराध भएको उनले जनाए।

“सिंगै समाजमा समानताको चेतना हुनुपर्दछ। कसैमाथि पनि हिंसा हुनुहुँदैन। कसैमाथि शोषण हुनुहुँदैन। भिन्‍नता हुन्छ तर भेदभाव हुनुहुँदैन,” प्रधानमन्त्री ओलीले भने। महिलाहरूले असमानता, तिरस्कार र प्रताडनाविरुद्ध संघर्ष गरेको इतिहास धेरै लामो भएको उनले स्मरण गरे।

“यो महिलाप्रधान, मातृप्रधान भनिने समाज पनि सुखमय थिएन। वडा पछौटे थियो। भन्‍न मात्रै नारीप्रधान थियो। तर, त्यसमा कुनै सुविधा थिएन। आमामात्र चिन्‍ने जमाना हो त्यो। त्यसप्रति गर्व गर्न सकिँदैन,” प्रधानमन्त्री ओलीले भने।

सिंगो मानव सभ्यताको इतिहासमा महिलाले पाउनुपर्ने, जसको हकदार महिला हुन्, त्यसप्रतिको न्याय पाउन नसकेको उनले जनाए। महिलाहरूले अन्यायको विरुद्ध धेरै आँशु बगाएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “मानव सभ्यताको सृष्टियता महिलाहरूले बगाएका आँशु जोड्ने हो भने एउटा खोला बन्थ्यो होला। धेरै आँशु बगाए महिलाले।’’

महिलाहरूले घर–घरमा तिरस्कार र असमानता भोग्नुपरेको उनले बताए। उनले थपे, “कति मान्छे अन्तै रिस उठ्यो भने त्यो रिस महिलामाथि पोख्‍ने गर्छन् । अन्तै झगडा पर्‍यो भने घरमा आएर श्रीमतीलाई दुःख दिने गर्छन्। यो समस्याको गहिराइ सोचेभन्दा बढी छ।”

नेपालमा धेरै परिवर्तन आइसकेको भए पनि केही विभेद अन्त्य गर्न अझै बाँकी रहेको उनले बताए। कानुन र सामाजिक व्यवहारद्वारा गरिने भिन्‍नता, असमानता, विभेदको अन्त्य गरी न्यायको स्थापना गर्न उनले सबैलाई आग्रह गरे।