ओली पक्षले किन बोलायो संसदीय दलको बैठक? १७३ सांसदलाई नै खबर गरियो

रामेछाप खबर संवाददाता

काठमाडौँ ,२३ फागुन ।

नेकपा केपी ओली समूहले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा संसद बैठक सकिएलगत्तै बस्नेगरी संसदीय दलको बैठक बोलाइएको ओली पक्षका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
उनले सबै १७३ सांसदलाई नै बैठकमा सहभागी हुन खबर गरिएको बताए ।

नेकपाभित्र दुई समूह रहेको बेला सर्वोच्चले पूर्ववत् अवस्थामै एमाले र माओवादी केन्द्र कायम रहनेगरी आइतबारै फैसला गरेको थियो । ओलीले भने नेकपा पार्टीकै हैसियतमा सबै सांसदलाई दलको बैठकमा बोलाएका हुन् ।

कांग्रेसकाे प्रतिक्रिया : अदालतको फैसलाले दलविहीनताको अवस्था आउँदैन

सर्वोच्च अदालतले नेकपा नामक दलका सम्बन्धमा आइतबार गरेको फैसलाले कसैलाई पनि दलविहीन नबनाउने प्रतिकृया कांग्रेस नेताहरुले दिएका छन् । सतारुढ दलको आन्तरिक विवादको किचलो चलिरहँदा भएको यो फैसला प्रति कांग्रेस नेताहरु सकारात्मक देखिएका हुन् ।

तत्कालीन माओवादी र एमालेको एकता अप्राकृतिक भएको सुरुदेखिकै कांग्रेसको भनाइलाई आज सर्वोच्चले पनि पुष्टि गरेको नेता रमेश लेखकले बताएका छन् । लेखकले पछिल्लो समय प्रधानमन्त्री केपी ओली र अर्का नेता प्रचण्ड बीचमा चलिरहेको द्वन्द्वले पनि अब सही बाटो समात्ने पनि विश्वास व्यक्त गरे ।

कानुनका जानकार कांग्रेस नेता राधेश्याम अधिकारीले अब दल विहीनताको अवस्थाको अन्त्य भएको टिप्पणी गरेका छन् । कांग्रेसको निर्वाचन समिति अधिकारीले प्रम ओली र प्रचण्ड पक्षले आआफ्नो दलको छुट्टा छुट्टै बैठक र कार्यक्रम गर्न कानुनी रुपमा वैधता पाएको बताए । ‘यो बीचमा उहाँहरु दुवै अन्योलमा पर्नुभएको थियो’, अधिकारीले भने, ‘सर्वोच्चको निर्णयसँगै त्यो अन्त्य भएको छ ।’

सर्वोच्च अदालतले नेकपाको नामको विवादमा आइतबार दिएको निर्णयअनुसार अब तत्कालीन एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा पुगेका छन् । यसरी यी दुई पार्टी पूर्ववत हुँदा पनि अबको सत्ता समीकरणमा कांग्रेस र जसपाको भूमिका निर्णायक हुने देखिएको छ । पछिल्लो समयमा कांग्रेस र जसपाले नेकपाको आन्तरिक विवाद कानुनी रुपमा नटुङ्गिएसम्म आफूहरु कुनै पक्षलाई सहयोग नगर्ने बताएका थिए ।

कांग्रेस नेता लेखकले भने अबको भावी परिस्थिति बारेमा पुन: पार्टीमा छलफल गरेर मात्रै केही भन्न सक्ने बताए । ‘अब हामी पुन: पार्टीमा पहिला छलफल गर्छौं’, लेखकले भने, ‘त्यसपछि मात्रै थप केही भन्न सकिन्छ ।’

सर्वोच्चले फैसला सुनाएको केही घन्टा अगाडि मात्रै आइतबार प्रधानमन्त्री ओलीले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटेका थिए । उक्त भेटमा के छलफल भयो भनेर सार्वजनिक गरिएको छैन ।