कांग्रेसलाई पदको लोभ छैन, तर प्रधानमन्त्री पाए भाग्नेवाला छैन : सभापति देउवा

रामेछाप खबर संवाददाता

काठमाडौँ , २० फागुन ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी काँधमा आए नभाग्ने बताएका छन् ।बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए नभागिने बताएका हुन् । उनले भने, ‘कांग्रेसलाई पदको लोभ छैन तर टाउकोमा आयो भने भाग्ने पनि छैन । काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन।’

सभापति देउवाले काँधमा जिम्मेवारी आए पूरा गरेरै छाड्ने बताएका छन् । साथै, आफूले कसैसँग प्रधानमन्त्री पद नमागेको र प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने देउवाको भनाइ छ।

यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेललाई सानो चित्त नगर्न पनि आग्रह गरेका छन् । उनले भने, ‘शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त नगर्नुहोला ।’

प्रधानमन्त्री पदले हाम्रो ढोका ढकढक्याइरहेको छ: कांग्रेस प्रवक्ता शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री पदले आफ्नो पार्टीको ढोका ढक्ढक्याइरहेको बताएका छन्। बिहीबार उनले प्रधानमन्त्री पदले ढोका ढक्ढक्याइरहे पनि कांग्रेसले ढोका खोलेर ग्रहण गरिनसकेको बताएका हुन्। त्यसलाई सयंमतापूर्वक झ्यालबाट हेरिरहेको उनको भनाई छ।

‘प्रधानमन्त्री पदले नेपाली कांग्रेस पार्टीको ढोका ढकढक्याइरहेको छ। तर कांग्रेसले ढोका खोलेर प्रधानमन्त्री पदलाई ग्रहण गरिसकेको छैन। हामी सयंमतापूर्वक झ्यालबाट हेरिरहेका छौं,’ उनले भने। पदको प्रस्तावहरूमा कुन रूपमा प्रस्तुति राख्ने भन्ने पनि निर्णय नभएको उनले बताए। प्रस्ताव भने दुबै तर्फबाट आएको उनले जानकारी दिएका छन्।

‘प्रस्तावहरूमा कुन रुपमा प्रस्तुति राख्ने भन्ने निर्णय भइसकेको छैन। दुबै तर्फबाट प्रस्ताव आइरहेको छ,’ उनले भने। त्यस्तै, विप्लव समूहसँग वार्ता गरी प्रतिबन्ध फुकुवा गर्ने निर्णय सकारात्मक भएको शर्माले बताए। अहिले कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक जारी छ।