बिहेको विज्ञापन : गरिब भएपनि हुन्छ,तर राम्रो चाहियो

रामेछाप खबर संवाददाता


विवाह दुई विपरित लिंगीलाई एकै ठाउँमा बाँध्ने सामाजिक, सांस्कृतिक र कानूनी प्रक्रिया हो । अझ नेपाली समाजमा त विवाहलाई एउटा पवित्र सम्बन्धका रुपमा लिने गरिन्छ । विवाहले दुई विपरित लिंगका व्यक्तिलाई मात्र जोडेको हुँदैन दुई परिवार,दुई समाज र दुई आफन्तलाई पनि मिलाएको हुन्छ । विवाह गर्नुको मतलब आफ्नो बंशको परम्परालाई निरन्तरता दिने प्रक्रिया पनि हो । विवाहले विद्यमान समाजको मूल्य,मान्यता र आदर्शलाई पछ्याएको हुन्छ । यध्यपि विवाहलाई व्यक्तिको निजी मामला हुँदै होइन भन्न चाहिँ सकिन्न ।

विवाहको यस्तो पवित्र सम्बन्धलाई पछिल्लो समय विकृत बनाइँदै गरेका थुपै उदाहरण पनि छन् । विवाहका नाममा समाजले कल्पनै गर्न नसक्ने खालका विज्ञापनहरु अखबारहरुमा बग्रेल्ती भेटिन्छन् । हो,विवाह धेर-थोर दुई व्यक्तिबीचको निजी मामला होला, तर समाजका मूल्य मान्यता र आदर्शको दायरालाई गर्ल्याम्मै भत्क्याएर विवाहको प्रक्रिया पूरा गर्न मिल्छ र ?

अखबारमा विज्ञापन छपाएर जोडेको सम्बन्ध कति टिकाउ होला ? यो प्रश्न त छँदैछ । अझ त्यहाँ राखिएका शर्तहरु हेर्दा त नेपाली समाज जिब्रो टोक्न बाध्य हुन्छ । केही दिनअघि ‘म्यारिज स्टेशन’का नाममा प्रकाशित एउटा सूचनामा त्यसैगरी बिहेबारीको सम्बन्धलाई मजाक बनाइएको छ । सूचनामा विवाह गर्न चाहेकी एक महिलालाई उनले खोजेजस्तो पुरुषको माग गरिएको छ । अमेरिकाको नागरिकताप्राप्त गरेकी ती महिलाले बिबाह गरेर पुरुष पनि अमेरिका जान राजी हुनुपर्ने शर्त राखेकी छन् ।

शर्तअनुसार खोजिएको केटा कुमार अथवा डिभोर्सी जस्तो भएपनि हुने उल्लेख छ । त्यस्तै केटा गरिब भएपनि हुने तर बानी व्यहोरा, पढाइ र हेर्दा राम्रो देखिनुपर्ने अर्को शर्त छ ।

माथिको त एउटा उदाहरण मात्र हो । यस्ता विज्ञापन आजकल धेरै भेटिन्छन् । आधुनिकताका नाममा होस् या स्वतन्त्रताका नाममा विवाहलाई उपभोग्य मालवस्तुका रुपमा हेर्ने यस्ता सोचले जरा गाड्दै जाँदा समाज कहाँ पुग्ला ? मूल्य तोकेर गाँसिएको सम्बन्ध कसरी प्रगाढ होला ? मुख्य चिन्ताको विषय त यस्ता कुराबाट नयाँ पुस्ताले के सिक्ला ?