क्रिकेटको खेलमा अनौठो संयोग : अघिल्लो ओभरमा ह्याटट्रिक, पछिल्लो ओभरमा ६ छक्का !

रामेछाप खबर संवाददाता

काठमाडौँ , २० फागुन ।

वेस्ट इन्डिजले श्रीलंकालाई बिहीवार सम्पन्न टी२० खेलमा चार विकेटले हराउँदा अनौठो संयोग बन्न पुगेको छ । श्रीलंकाका अफ स्पिनर अकीला धनञ्जयले आफ्नो दोस्रो ओभरमा ह्याटट्रिक लिएर वेस्ट इन्डिजलाई अप्ठ्यारो पारे । तिनै अकीलाको अर्को ओभरमा वेस्ट इन्डिजका कप्तान कीरोन पोलार्डले लगातार ६ छक्का प्रहार गरेर म्याच वेस्ट इन्डिजको पक्षमा पारे ।

अन्तर्राष्ट्रिय टी२० मा हर्शल गिब्स र युवराज सिंहपछि लगातार ६ छक्का हान्ने तेस्रो ब्याट्स्म्यान पोलार्ड बनेका छन् । म्याचमा वेस्ट इन्डिजले टस जितेर बलिङ गरेको थियो । त्यसपछि श्रीलंका निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३१ रन बनायो । जवाफमा वेस्ट इन्डिजले १३.१ ओभरमा ६ विकेट गुमाएर १३४ रन बनायो ।

म्यान अफ द म्याच पोलार्डले ११ बलमा ३८ रन बनाए ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।