केपी ओली ‘लुरे’ प्रधानमन्त्री : गगन थापा

रामेछाप खबर संवाददाता

काठमाडौं, १८ फागुन ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री गगनकुमार थापाले केपी शर्मा ओलीलाई ‘लुरे’ प्रधानमन्त्रीको संज्ञा दिएका छन् । मङ्गलवार सर्लाहीको दक्षिण-पश्चिम भेगस्थित धनकौल बजारमा पार्टीद्वारा आयोजित आम सभामा उनले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री आफैले ‘मेरो जीउ ज्यान असुरक्षित छ’ भन्दै हिँड्दा जनताले यो सरकारबाट सुरक्षाको के अपेक्षा गर्नु ? भन्दै प्रश्न गरे । प्रधानमन्त्री ओलीले हिजो पोखरा पुगेर ‘ममाथि तलमाथि भए अचम्म माग्नु पर्दैन’ भन्ने अभियुक्त दिएका थिए । सोही कुरालाई इंकित गर्दै काँग्रेस केन्द्रीय सदस्य थापाले प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनु लज्जास्पद रहेको भन्दै ओलीलाई ‘लुरे’ प्रधानमन्त्रीको संज्ञा दिएका हुन् ।

ओलीको बोलीको ठेगानै नरहेको थापाको आरोप छ । उनले निर्वाचन आयोगले नेकपाको आधिकारिताबारे निर्णय दिन ढिला गरेर ओलीका गलत हर्कतहरुलाई साथ दिइरहेको पनि आरोप लगाए ।

पदको मोहले गर्दा नेकपाभित्र अहिले भाँडभैलो मच्चिएको भन्दै काँग्रेस केन्द्रीय सदस्य थापाले यसअघि अहिले विरोध गरे पनि पहिले भने प्रचण्ड-नेपाल समूहका नेताहरूले राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कामकारबाहीलाई आँखा चिम्लिएर सहयोग गरेको बताए ।उनले यो बेलामा काँग्रेस सरकारमा जाने हतारो गर्नुभन्दा पनि संविधान रक्षाकै निम्ति उभिन जरुरी रहेकोमा जोड दिए ।

सभालाई पार्टीका केन्द्रीय सदस्य जंगिलाल राय, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, पार्टीका जिल्ला सभापति एवं सङ्घीय सांसद नागेन्द्र राय, संविधान सभा सदस्य हरेश महतो, पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण रायलगायतले सम्बोधन गरे ।

पार्टीको ४ नं. क्षेत्रका क्षेत्रीय सभापति राम आश्रय साहको अध्यक्षताको आयोजित कार्यक्रममा झन्डै २ हजारको सङ्ख्यामा अन्य पार्टीका नेता कार्यकर्ता काँग्रेसमा भित्रिएका कार्यक्रम सञ्चालक एवं प्रदेश सभा सदस्य वीरेन्द्र प्रसाद सिंहले दाबी गरेका छन् ।