‘रियल म्याड्रिडसँग सलाह किन्‍ने पैसा छैन्’

रामेछाप खबर संवाददाता

काठमाडौं, १७ फागुन ।

लिभरपुलका मोहम्मद सलाह स्थान्तरणका लागि युरोपका विभिन्न ठूला क्लबसँग जोडिदै आएका छन् । स्पेनको रियल म्याड्रिड इजिप्टका स्टार फरवार्डलाई अनुबन्ध गर्न तयार रहेको त्यहाँका सञ्चार माध्यमले दाबी गरिरहेका छन् । आगामी ‘समर विन्डो’ सलाहका लागि रियल जाने मौका बन्न सक्ने उनीहरूको दाबी छ ।

रियलको नजर सलाहमाथि रहेको भनेर स्पेनी सञ्चार माध्यमले दाबी गरिरहँदा त्यसै क्लबका पूर्व अध्यक्ष रामोन कालडेरोनले त्यस्तो दाबीमा सत्यता रहेको बताउँछन् । तर रियलका लागि सलाह खरिद सजिलो नभएको उनको भनाई छ । सलाहको लिभरपुलसँगको सम्झौता सन् २०२३ को जुन ३० मा सकिँदैछ । त्यसअघि नै रियलले सलाहलाई स्पेन लग्न प्रयास गर्ने कालडेरोनको दाबी थियो ।

‘सलाह विश्वस्तरिय खेलाडी हुन् । उनको परिचय गोलकर्तामा मात्रै सिमित छैन । उनले लिभरपुललाई उपाधि जित्न सहयोग गरेका छन् । उनको महत्व लिभरपुललाई थाहा छ । त्यसकारण लिभरपुलले उनलाई बेच्छ जस्तो लाग्दैन,’ कालडेरोनले इजिप्टको टेलिभिजन च्यानल अन टाइम स्पोर्टससँग कुरा गर्दै भने, ‘रियल सलाहलाई अनुबन्ध गर्न चाहान्छ । यदि लिभरपुल सलाहलाई बेच्न तयार भइहाल्यो भने पनि ठूलो सरुवा रकमको आवश्यकता पर्छ । तर रियलसँग त्यसका लागि आर्थिक स्रोत छ जस्तो लाग्दैन ।’

क्रिस्टियानो रोनाल्डोले रियल छाडेपछि जिनेदिन जिदानलाई पोर्चुगिज स्टारलाई प्रतिस्थापन गर्नसक्ने खेलाडीको आवश्यकता छ । रोनाल्डोको अनुपस्थितीमा जिदानले रियललाई विगतका सिजनमा जस्तो सफलता दिलाउन नसकिरहेका बेला सलाह खरिदका विषयमा चर्चा चलिरहेको छ ।

रियलका मुख्य स्ट्राइकर करिम बेन्जेमा करियरको उत्तरार्द्धमा रहेका एडेन हाजार्डले पनि स्वभाविक लय देखाउन नसकिरहँदा रियलमा अर्को विश्व स्तरिय खेलाडीको अभाव महसुस गरिएको छ । त्यसो त सलाह र हाजार्डले चेल्सीमा सँगै खेलेका थिए । रियलले यदि सलाहलाई भित्र्याउन सफल हुने हो भने यी दुई खेलाडीले जिदानको टिममा महत्वपूर्ण साझेदारी गर्न सक्नेछन् ।