मार्सी बियर, माफिया ह्विस्की र डन इनर्जी ड्रिंक ल्याउँदै दुर्गा प्रसाई

रामेछाप खबर संवाददाता

काठमाडौं, १७ फागुन ।

झापास्थित बिएण्डसी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक दुर्गा प्रसाईले आफूलाई मार्सी भनेर बदनाम गरिएकाले अब त्यसैलाई व्यापारमा परिणत गर्ने बताएका छन्।

तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भक्तपुरस्थित आफ्नो घरमा जुम्ली मार्सी चामलको भात खाएपछि आफ्नो बदनाम गर्न केही मिडियाकर्मी र राजनीतिक दलका नेता कार्यकर्ता लागेको आरोप उनले लगाएका छन्।

‘मार्सी चामलको भात खाँदै गरेको फोटो सार्वजनिक भएपछि मलाई मार्सी, माफिया, डन आदि उपनाम राखेर मेरो बदनाम गरियो’, उनले भने, ‘मेरा अगाडि, पछाडि अनेक नाम जोडेर पत्रकार र राजनीतिज्ञले पनि भात पानी छाडेर लागे।’

उनले दुनियाँमा सबैभन्दा गाली सत्य बोल्नेले खेप्नु पर्ने बताए। ‘मलाई अनेक नामले बदनाम गरे’, उनले भने, ‘अब चाँडै मार्सी बियर, माफिया ह्विस्की र डन इनर्जी ड्रिंक ल्याउँदैछु।’

‘यो गोलचक्करबाट नेपाललाई मुक्ति चाहिन्छ’ : नेता महतो

कैलाली – जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले साझा र समृद्ध नेपाल बनाउनलाई सबै मिल्नुपर्ने बताउनुभएको छ ।

जसपाले आज धनगढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले वर्तमान परिस्थितिमा देशलाई निकास दिनका लागि सबै मिल्नुको विकल्प नरहेको बताउनुभयो ।

“यो गोलचक्करबाट नेपाललाई मुक्ति चाहिन्छ”, उहाँले भन्नुभयो, “जबसम्म गोलचक्करबाट नेपाललाई मुक्ति मिल्दैन तबसम्म नेपालको कहिल्यै समृद्धि हुन सक्दैन र कहिले पनि नेपाली जनता अधिकार र पहिचान पाउन सक्दैनन् ।” वरिष्ठ नेता महतोले संविधान र शासन पटक पटक परिवर्तन हुने तर विचार र व्यवहार चाहिँ परिवर्तन नहुनुले नै देशमा समस्या निम्तिएको बताउँदै कुर्सी र स्वार्थका लागि मुलुकमा पटक पटक राष्ट्रघात काम भएको आरोप लगाउनुभयो ।

उहाँले जनता समाजवादी पार्टी नै यो देशको वैकल्पिक राजनीतिक शक्ति बन्ने र त्यसले देशको विधमान समस्यालाई समाधान गर्ने बताउनुभयो । मुलुकको परराष्ट्र नीति कस्तो हुनुपर्दछ भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा उहाँले परराष्ट्र नीति कुनै पार्टी वा व्यक्तिको नभई देशको हितमा हुनुपर्ने उल्लेख गर्नुभयो ।