तेलको मूल्य फेरि बढ्दै, भारतले पठायो नयाँ मूल्यसूची

रामेछाप खबर संवाददाता

काठमाडौं, १७ फागुन ।

नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने भएको छ । आजै रातिदेखि नै बढाउने तयारी गरिएको आयल निगम स्रोतले जनाएको छ ।
भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएपछि नेपालमा पनि बढाउनुपरेको निगम स्रोतले जानकारी दियो ।

नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीचको सहमतिअनुसार आईओसीले आजदेखि सोमबार (मार्च १) गतेदेखि लागु हुनेगरी मूल्य बढाएर पठाएको हो ।आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ २० पैसा, डिजेलमा ४ रुपैयाँ ७ पैसा, मट्टितेलमा ४ रुपैयाँ ६५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ ६ पैसा तथा ग्यासमा प्रतिसिलिन्डर ९१ रुपैयाँ ९६ पैसा बढेको छ ।

तर निगमले खरिद मूल्यअनुसार तेलको मूल्य नबढाउने जनाएको छ । हालको मूल्यमा तेल बिक्री गर्दा निगमलाई पाक्षिक एक अर्ब ५४ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको निगमले जनाएको छ ।

प्रदेश सरकारबाट पश्चिम नवलपरासीमा २ अर्बका योजना

परासी: लुम्बिनी प्रदेश सरकारले पश्चिम नवलपरासीका लागि यस वर्ष करिब २ अर्ब बराबरको भौतिक पूर्वाधारका योजना छुट्टाएको छ ।
त्यसरी छुट्टाएका योजनामा सबैभन्दा बढी पुल निर्माणका योजना प्राथमिकतामा परेका छन् । भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी पश्चिम नवलपरासी जिल्लाका भएका कारण पनि जिल्लामा भौतिक पूर्वाधारका योजनाले प्राथमिकता पाएको बताइन्छ ।

प्राथमिकतामा परेका पुलहरु हुलाकी सडक र घण्टौं लगाएर एक गाउँबाट अर्को गाउँमा जाने स्थानमा छन् । पुल निर्माणपछि स्थानीयहरुले वर्षौदेखि भौग्दै आएको आवतजावतको समस्या समाधान भएको रामग्राम नगरपालिका वडा नं. १५ का अध्यक्ष धनपत यादवले बताए ।

यसवर्ष सडक सञ्जाल र पुल निर्माण अन्तरग भई रहेका कामहरु केही सम्पन्न भइसकेका छन् । भने केही निर्माणका चरणमा छन् । नवलपरासी जिल्लामा हरेक वर्ष करिब २ अर्ब बराबरका भौतिक पूर्वाधारका योजनाहरु प्रदेश सरकारबाट छुट्टिने गरेको भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए ।

स्थानीयहरुको मागका आधारमा अति आवश्यक योजनाहरुलाई प्राथमिकतामा राखेर काम गरेकोले त्यसको संरक्षणका लागि स्थानीयहर नै लाग्नु पर्नेमा उनले जोड दिए । प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री चौधरीले प्रदेश सरकारले आगामी वर्ष पनि विभिन्न स्थानीय तहहरुमा सडक सञ्चाल, खानेपानी,पुल निर्माणदेखि रामग्रामको विकासका लागि बजेट विनियोजन गर्ने बताए ।

यसैबीच सोमबार मात्र मन्त्री चौधरीले २ वटा पुलको शिलन्यास गरेका छन् भने अन्य २ वटा पुलको उद्घाटन गरेका छन् । ति चार वटा पुलको लागत २५ करोडको छ । उद्घाटन गरेका पुलमा सुनवल नगरपालिका अन्तरगतको महलपोखरीहुँदै पाल्पा सडक जोड्ने पुल र बर्दघाट र सुनवल नगरपालिका जोड्ने खुर्सानी खोलाका पुल छन् । त्यसैगरी सोमबार नै शिलन्यास गरेका पुलमा रामग्राम नगरपालिकाको घिनहवा सडकको पुल तथा रामग्राम र सुनवल जोड्ने तुरिया खोलामा अर्को पुल शिलन्यास गरिएको छ । शिलन्यास गरेका पुल २ वर्षभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ ।