प्रियंका-आयुष्मानले माल्दिभ्स पुगेर मनाए ‘म्यारिज एनिभर्सरी’ र जन्मदिन

रामेछाप खबर संवाददाता

काठमाडौं ।

नायिका प्रियंका कार्की र उनका श्रीमान् आयुष्मान देशराज जोशी माल्दिभ्समा छन्। उनीहरू प्रियंकाको जन्मदिन र ‘म्यारिज एनिभर्सरी’ मनाउन माल्दिभ्स पुगेका हुन्।

माल्दिभ्समा उनीहरूले जन्मदिन र म्यारिज एनिभर्सरी मनाएका छन्। सेलिब्रेसन गरेका तस्बिरसमेत सार्वजनिक गरेका छन्। जसमा प्रियंका विकिनीमा देखिएकी छिन् भने आयुष्मान पनि अण्डरवेयरमा देखिएका छन्। दुवै जनाले समुन्द्र किनारमा सेलिब्रेसन गरेका तस्बिर सार्वजनिक गरेका हुन्।

प्रियंका र आयुष्मानले बिहे गरेको एक वर्ष पूरा भएको छ। उनीहरू गत वर्षको फागुन १६ गते वैवाहिक जीवनमा बाँधिएका थिए। गत वर्ष उनीहरूले विवाह गरेपछि कोरोना महामारीका कारण हनिमुन यात्रा पनि गर्न पाएका थिएनन्। लकडाउनका कारण उनीहरू घरमै बस्‍न बाध्य भएका थिए। त्यसैले अहिले अवस्था सहज भएसँगै उनीहरू बर्थडे र एनिभर्सरी सेलिब्रेसन गर्न त्यहाँ पुगेका हुन्।

जन्न्मदिन र एनिभर्सरीमा ठूलो खुसी दिएको भन्दै प्रियंकाले आयुष्मानलाई धन्यवाद दिएकी छिन्। चलचित्र क्षेत्रमा चर्चामा रहेकी प्रियंकाको पछिल्लो समय क्रेज भने घट्दै गएको छ। केही वर्ष अगाडिसम्म नम्बर एक स्थान ओगटेकी प्रियंका यतिबेला भने चलचित्रविहीन बनेकी छिन्।

अन्य नायिकाहरूको हातमा थुप्रै चलचित्र आउँदा प्रियंकालाई भने एउटा पनि परेको छैन। त्यसको कारण गत वर्षमात्र वैवाहिक बन्धनमा बाँधिएर हो वा चलचित्र नै हातमा नपरेको हो त्यसबारे कुनै जानकारी प्रियंकाले दिएकी छैनन्।

प्रियंका सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन्। उनले आफ्ना दैनिक क्रियाकलापदेखि सामाजिक विषयवस्तुमासमेत सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिने गरेकी छिन्।