खुमलटारको दाहाल, नेपाल, खनाल कम्पनीले मुलुकलाई अँध्यारो सुरुङतिर लग्यो : शेरधन राई

रामेछाप खबर संवाददाता

काठमाडौं, ८ फागुन ।

१नम्बर प्रदेशका मुख्यमन्त्री तथा नेकपा ओली समूहका नेता शेरधन राईले खुमलटारमा दर्ता भएको दाहाल, नेपाल, खनाल कम्पनीले मुलुकलाई अँध्यारो सुरुङतिर लगेको आरोप लगाएका छन् ।

विराटनगरमा नेकपा ओली समूहले गरेको प्रदेशस्तरीय विशाल सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले कम्पनीले देशलाई अराजकतातिर धकेल्न खोजेको आरोप लगाए ।

‘खुमलटारमा दर्ता भएको दाहाल, नेपाल, खनाल कम्पनीले देशलाई अराजकतातिर धकेल्न खोज्यो, राष्ट्रपतिलाई हटाएर, प्रधानमन्त्री र मुख्यमन्त्रीलाई अपदस्त गरेर मुलुक कब्जा गर्ने कित्ता देखापरेको छ,’ उनले भने, ‘यो कित्ताले अँध्यारो बाटो रोजेको छ, मुलुकलाई अँध्यारो सुरुङतिर लगेको छ ।’

‘हाम्रो कित्ता राष्ट्रियता र राष्ट्रवादी धारको नेतृत्वको केपी ओलीले गरिराख्नुभएको छ । हाम्रो कित्ता सुशासन, विकास र समृद्धिको कित्ता हो,’ उनले भने, ‘यो दुई कित्ताको बीचमा लडाइँ शुरू भएको छ ।’

नेकपा प्रचण्ड–नेपाल समूहले विकास र समृद्धिको यात्रामा भाँजो हाल्ने काम गरेको समेत उनले बताए । ‘मुख्यमन्त्रीलाई हटाउने, चुनावमा हारेकाहरू फेरि मुख्यमन्त्री हुनुपर्ने । प्रदेशमा भाँजो हाल्न उहाँहरू लागेका छन्,’ उनले भने, ‘हामी प्रदेशलाई कब्जा गर्न दिँदैनौं । प्रदेश तहमा पनि आक्रमण शुरू गर्नुभएको छ, हामी उहाँलाई पराजित गर्नेछौं ।’

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।