वैशाखमा चुनाव हुन्छ, सबै तयार भएर बसौँ : उपप्रधानमन्त्री पोखरेल

रामेछाप खबर संवाददाता

काठमाडौं, ८ फागुन ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा निर्वाचन हुने बताएका छन् । काठमाडौँ महानगरपालिका– ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उनले चुनावका लागि तयार हुन आग्रह समेत गरे ।

राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपरेको उनको भनाइ छ । उनले भने, “ चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्ने छन् । जनताभन्दा ठूलो न्यायाधीश अरु कोही हुँदैनन् । यसैले ताजा जनादेशका लागि सबै तयार हुनुपर्छ । ”

निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा विकास र समृद्धिको सपना साकार हुने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ । वाग्मती प्रदेश सरकार र स्थानीय जनसहभागितामा भीमसेनथान मन्दिरको पुनःनिर्माण गरिएको हो । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ क का प्रदेश सांसद नारायण सिलवालले मन्दिर पुनःनिर्माणमा पहल गरेका थिए ।

पूर्वएमाले पथमा पूर्वमन्त्री शेरबहादुर तामाङ !

विघटित प्रतिनिधिसभाका सांसद तथा नेकपा केन्द्रीय सदस्य शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राईले एकैसाथ प्रचण्ड–माधव समूह परित्याग गरेको घोषणा गरेका छन् ।

शनिबार दुबैले प्रचण्ड–माधव समूह परित्याग गरेको घोषणा गरेका हुन् । तामाङ दम्पतीले ओली समूहमा प्रवेश गर्दै पूर्वएमाले विचारधार बोकेका सबै नेता तथा कार्यकर्ता यो समूहमा सामेल हुन सक्ने धारणा राखेका छन् ।

उनले ‘प्रचण्ड–माधव नेपालको धेरै कार्यक्रमहरु नजिकबाट नियालेको तर, यो समूहले लोकप्रिय कम्युनिष्ट आन्दोलनलाई पार लगाउन नसक्ने निष्कर्षमा पुगेको र कम्युनिष्ट आन्दोलनको संरक्षणका लागि ओली समूह नै विशेष रहने महसुस गरेको बताएका छन् ।

उनले लोकप्रिय कम्युनिष्ट आन्दोलन पूर्वएमालेको एजेण्डा भएको भन्दै त्यसको नेतृत्व प्रधानमन्त्री ओलीले बोकेर हिँडिरहनु भएकाले पूर्वएमालेको विचार मन पर्ने जो पनि ओली समूहमा सामेल हुन सक्ने दावी गरेका छन् ।

अहिले राजनीतिक दृष्टिकोण महत्वपूर्ण भएको र कम्युनिष्ट पार्टीभित्र त्यो संकटमा परेकाले त्यसलाई समाधान गर्न ओली समूहको नै विशेष भूमिका रहने तामाङको भनाइ छ । उनले कुनै पनि पदका लागि आफू ओली समूहमा नआएको दाबी गरे ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।