प्रधानमन्त्री ओलीलाई दाहाल-नेपाल समूहले कालो झण्डा देखायो

रामेछाप खबर संवाददाता

विराटनगर, ८ फागुन ।

कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई विराटनगरमा नेकपा दाहाल नेपाल समूहका विद्यार्थी तथा युवाहरुले कालो झण्डा देखाएका छन् । प्रधानमन्त्रीलाई विद्यार्थी र युवाहरुले विराटनगर विमानस्थलबाट कार्यक्रमस्थल जाने क्रममा एयरपोर्ट मोडमा कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाएपछि युवा तथा विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

आज विराटनगरमा ओली समूहको कार्यक्रममा सहभागी हुन उनी गएका थिए ।

विराटनगरमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विराटनगरमा नाराबाजी भएको छ । प्रम ओली विराटनगर पुगेलगत्तै प्रचण्ड–माधव समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओली विराटनगर एयरपोर्टमा ओलिएपछि विद्यार्थीहरुले उनीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । शनिबार आफ्नो समूहको शक्ति प्रदर्शन र जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगर आएका हुन् ।

प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटन गरेपछि पहिलोपटक प्रदेश १ मा आमसभालाई सम्बोधन गर्न लागेका हुन् । ओली दुई वर्षपछि विराटनगर पुगेका हुन् । आज हुने जनसभामा दुई लाख कार्यकर्ता उतार्ने लक्ष्य ओली समूहले गरेको छ । प्रधानमन्त्री ओली आएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रधानमन्त्री ओलीको सुरक्षामा चारवटै सुरक्षा निकायलाई परिचालन गरिएको छ ।