नेपाली गोलभेंडा सडकमा, भान्सामा भने भारतको

रामेछाप खबर संवाददाता

काठमाडौं, ८ फागुन ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका वैदेशिक रोजगारीबाट फर्केका रामचन्द्र नेपालले स्वदेशमै तरकारी खेती गर्ने सोच बनाए । सोहीअनुसार
उनले अन्नपूर्ण कृषि उत्पादन फर्म दर्ता गरे । स्वदेशमै केही गर्ने हेतुले कृषि सुरु गरेका उनी यो पेसाबाट खुसी भने छैनन् । नेपाली कृषि उत्पादनले बजार नपाएको भन्दै पश्चिम नवलपरासीका किसानले बर्दघाट नगरपालिका परिसरमा गोलभेंडा फालेर गरको प्रदर्शन ।

‘सरकारले कृषि क्रान्ति गर्ने भनेर स्थानीय तहले खेती गर्न भन्यो, सोहीअनुसार खेती गरिरहेका पनि छौं,’ उनले भने, ‘तर त्यसको मूल्य मापन भएन । उत्पादन बजारसम्म पुर्‍याउनै गाह्रो भयो ।’ भारतीय तरकारीले नेपाली बजार कब्जा गरेपछि थप समस्या भएको किसानको भनाइ छ । त्यसको विरोधमा बर्दघाटका किसानले फागुन ४ मा बर्दघाट नगरपालिका कार्यालय परिसरमै गोलभेंडा फाले ।

‘विदेशबाट फर्केपछि करिब १८ वर्षयता कृषिमै संलग्न छु । तर हरेक वर्ष मूल्यकै समस्या छ । आयातित तरकारी सस्तो हुँदा नेपाली किसानलाई मार पर्‍यो,’ उनले भने, ‘तरकारी बेच्ने यहीँ स्थानीय तहमै हो । तर बजारबाटै विस्थापित छौं ।’ बिक्री नभएपछि करिब ६ बिघा बारीमा गोलभेंडा थुप्रिएको उनले गुनासो गरे ।

जिल्ला सामुदायिक वन उपभोक्ता महासंघका नवलपरासी जिल्ला अध्यक्ष कमल परियारले पनि उत्पादनले बजार नपाएको बताए । ‘किसानको बारीमा उत्पादन प्रशस्त छ । १०/१२ दिनयता तापक्रम पनि बढ्यो, दुई–चार दिनपछि पाक्ने गोलभेंडा अगाडि नै पाक्यो,’ उनले भने, ‘उत्पादनले बजार पाएन । हाटबजारमा किलोको १०/१५ रुपैयाँमा किन्न पाइन्छ । किसान थप सस्तोमा बिक्री गर्न बाध्य छन् ।’

सिजन भएकाले गोलभेंडाको मूल्य सस्तो भएको नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्लेको दाबी छ । ‘सिजन भएकाले उत्पादन बढी नै छ । जिल्लामै प्रशस्त उत्पादन भएकाले जिल्ला बाहिरको रोक्नुपर्‍यो भन्ने माग गरेका छन्, किसान उग्र किसिमले कार्यालय आए,’ काफ्लेले भने, ‘असन्तुष्टि पोख्न सजिलो छ, यसमा नगरपालिकाले सहजीकरण मात्र गर्ने हो ।’

किसानले प्रतिकिलो करिब १० रुपैयाँमा बेचेको गोलभेंडा उपत्यकामा ५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । खुद्रा व्यापारीका अनुसार भारतीय गोलभेंडा ४० र नेपाली गोलभेंडा ५० रुपैयाँमा बिक्री भएको व्यापारी बताउँछन् । उपत्यकामा बारा, चितवन, दाङ, सुनसरी, धादिङ, काभ्रे, ललितपुरलगायत जिल्लाबाट गोलभेंडा आउँछ । आयातित तरकारी मुख्यतः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिबाट बिक्री गरिन्छ ।

समितिले उपत्यकाको करिब ७५ प्रतिशत माग पूर्ति गरिरहेको छ । समितिका सूचना अधिकारी विनय श्रेष्ठले पनि किसानको मूल्य घट्नुको मुख्य कारण भारतकै गोलभेंडा भएको बताए । ‘स्थानीय उत्पादनसँगै भारतबाट पनि प्रशस्त मात्रामा गोलभेंडा भित्रिएको छ । तुलनात्मक रूपमा नेपालीभन्दा भारतीय केही सस्तो पनि छ,’ श्रेष्ठले भने, ‘भारतीय गोलभेंडा सस्तो हुँदा यहाँका किसानले मूल्य पाएनन् ।’

माघमा कालीमाटी बजारमा ३० लाख ५९ हजार ५ सय ७६ किलो गोलभेंडा भित्रिएको समितिको तथ्यांक छ । यसमध्ये १६ लाख ५० हजार ९ सय ३६ किलो भारतबाटै आयात भएको थियो । फागुन पहिलो साता पनि भारतबाटै उल्लेख्य परिमाणमा गोलभेंडा भित्रिएको छ ।

‘फागुन पहिलो साता भित्रिएको परिमाणमध्ये ५० प्रतिशत भारतकै छ,’ श्रेष्ठले भने, ‘भारतबाट पर्याप्त आयात हुँदा नेपाली किसानको लागत नै उठ्दैन ।’ अहिले भारतमा पनि गोलभेंडाको सिजन हो । भारतमा विभिन्न सहुलियतका कारण नेपाली उत्पादनको तुलनामा गोलभेंडा सस्तो पर्छ । त्यसको फाइदा व्यवसायीले उठाइरहेका छन् । नेपाली किसान भने बर्सेनि मूल्य नपाउने समस्याबाट गुज्रिरहेका छन् । आफूले उत्पादन गरेका वस्तुको मूल्य/बजार नपाएको भन्दै उनीहरूले हरेक वर्ष विरोध गर्ने गरेका छन् ।

तरकारी बिक्री नभएपछि बालीमै ट्र्याक्टर लगाउनुपर्ने बाध्यतासमेत छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले भने किसानले मूल्य नपाएको विषयमा मन्त्रालय जानकार रहेको बताए । किसानका समस्या समेट्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ । यद्यपि भारतबाट आउने तरकारीलाई बिनाकारण रोक्न नमिल्ने उनले बताए ।

‘हामीले भारतलाई जति गाली गरे पनि दुई मुलुकबीचको व्यापार नीति/सन्धि छ । सम्बन्धको कुरा पनि छ । बिनाकारण तरकारी रोक्न मिल्दैन,’ उनले भने, ‘नेपाली किसानले उत्पादकत्व बढाउने हो, होलसेल बजार खोज्ने हो । मल, बीउ र सिँचाइको सुविधा दिने जिम्मा सरकारको हो । अरू किसानकै भरमा छ ।’ मुलुकभर २ लाख ९७ हजार १ सय ९५ हेक्टरमा तरकारी खेती हुने गरेको राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रका बागवानी विकास अधिकृत सन्दीप सुवेदीले जानकारी दिए । यसमध्ये २२ हजार ५ सय ६६ हेक्टरमा गोलभेंडा खेती गरिन्छ । उक्त क्षेत्रफलमा वार्षिक ४ लाख ६ हजार ४ सय ३४ टन गोलभेंडा उत्पादन हुन्छ । त्यसले नपुगे भारतकै भर पर्नुपर्छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।