यो क्षेत्रका काठमाडौँबासीले कुखुराको मासु खाने गर्नु भएको छ भने आजै बाट छोड्नुहोस्,जाला ज्यान

रामेछाप खबर संवाददाता

फाल्गुन, १ काठमाडौं ।

झन्डै दुई साताअघि काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्लेखोला फुटुङका किसानले पालेका टर्की र हाँसमा बर्ड फ्लु रोग (एच५एन८) पुष्टि भयो ।केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइप पीसीआर विधिबाट परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएपछि त्यस क्षेत्रमा १ हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५ सय ४२ अन्डा र ७५ किलो दाना नष्ट गरियो । त्यसपछि बर्ड फ्लु नियन्त्रणमा रहेको दाबी गरेको सरकारले दुई साता नबित्दै फेरि सोही क्षेत्रमा बर्ड फ्लु देखिएको छ ।

तारकेश्वर नगरपालिका–१ मा पालेका हाँसमा बुधबार बर्ड फ्लु देखिएको पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले जानकारी दिए । ‘शंकास्पद रूपमा कुखुरा मरेपछि निगरानी भइरहेको थियो । बुधबार बेलुका बर्ड फ्लु भएको पुष्टि भयो,’ उनले भने, ‘बुधबार राति पन्छी नष्ट गरेर नियन्त्रण गर्न सकेनौं । सबै प्रक्रिया पुर्‍याएर बिहीबार नियन्त्रणमा लिएका छौं ।’

विभागका अनुसार हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट परीक्षण गरिएको थियो । परीक्षणको क्रममा बर्ड फ्लु प्रमाणित भएको हो । रोग अन्यत्र फैलिन नदिई र तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकाय परिचालन गरिएको विभागले जनाएको छ ।

रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको विभागले बताएको छ । ‘यस क्रममा १४ सय २१ वटा हाँस, ४२ वटा लोकल कुखुरा, २६ अन्डा र ८ सय किलो दाना नष्ट गरेका छौं,’ ढकालले भने, ‘रोग देखापरेको क्षेत्रलाई पूर्ण निःसंक्रमणसमेत गरिसकेका छौं ।’ त्यस क्षेत्रमा रोग पूर्ण रूपमा नियन्त्रण रहे पनि निगरानीलाई निरन्तरता दिइएको विभागले बताएको छ ।