श्वेता खड्काको चुनौती- कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार छु !

रामेछाप खबर संवाददाता

काठमाडौं ।

अभिनेत्री श्वेता खड्काले एकीकृत माझी बस्ती निर्माणबाट आफूले हात झिकेको भनेर आएका खबर तथा सूचनाहरु ‘भ्रमपूणर्’ भएको बताएकी छन् ।

‘श्वेताले माझी बस्तीबाट हात झिकिन्’ भनेर विभिन्न सञ्चारमाध्यम र समाजिक सञ्जालमा खबरहरु आइरहेका उल्लेख गर्दै अभिनेत्री खड्काले ती खबरहरु भ्रमपूणर् रहेको बताएकी हुन् ।

आफू नेतृत्वको श्वेताश्री फाउन्डेसनले अहिले पनि स्थानीय (माझी समुदाय)सँगको सम्झौताअनुसार नै काम गरिरहेको र आफ्नो जिम्मामा रहेको काम संस्थाले पूरा गर्ने बताएकी छन् ।

‘बस्ती निर्माणका लागि तैँले के गरिस्’ भन्ने तरिकाले आफूलाई प्रश्न उठाउने गरिएको भन्दै श्वेताले बस्तीको निर्माण कार्य सञ्चालनका लागि आफूले व्यक्तिगत रुपमा ३२ लाख रुपैयाँ खर्च गरेको पनि बताएकी छन् । ‘मैले श्वेताश्री फाउण्डेसनको नाममा पैसा उठाएर विलासी जीवन विताएको प्रतिक्रियाहरु पनि देखेको छु,’ श्वेताले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘तर जसले मलाई फाउण्डेसनको नाममा पैसा उठाएर गलत प्रयोग गरेको प्रमाणित गर्छ, त्यो प्रमाणि भएकै दिन जु्त्ताको मालासहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार छु ।’

सरकारले भूकम्पपीडितलाई दिने ३ लाख रुपैयाँमा बन्ने (मापदण्डअनुसारको) घर स्थानीयले सानो हुने र आकर्षक पनि नदेखिने भनेपछि प्रतिघर ८ लाख २५ हजार रुपैयाँ लागत लाग्ने गरी ५६ घर बनाउने प्रक्रिया अगाडि बढाइएको श्वेताको भनाइ छ । पछि दाताहरुबाट ढोका तथा जस्ता सहयोग प्राप्त हुने भएपछि एउटा घरको लागत ७ लाख रुपैयाँ लाग्ने हिसावका साथ निर्माण कार्य अगाडि बढाइएको पनि श्वेताले उल्लेख गरेकी छन् ।