ओलीको आदेशमा झाँक्रीलाई पक्राउ गरियो : पुष्पकमल दाहाल

रामेछाप खबर संवाददाता

काठमाडौं, २९ माघ ।

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको बताएका छन् । आज (बिहीबार) आदिवासी जनजाति मगर संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले झाँक्रीलाई बुधबार नै पक्राउ गर्न प्रहरीले बल प्रयोग गरेको दाबी गरेका छन् ।

‘तथाकथित राष्ट्रपतिको विषयमा गलत बोल्यो भन्ने नाममा प्रधानमन्त्री ओलीको ठाडो आदेशमा कम्रेड रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको हो,’ दाहालले भने, ‘आज जबरजस्ती पक्राउ गरेर प्रहरीले लगेको छ । हिजो बेलुकासम्म हामीले रोक्न बल गरेका थियौँ ।’

दाहालले ओली नेतृत्वको सरकारले लोकतन्त्रमाथि नै ताला लगाउने प्रयास गरेको बताएका छन् । ‘झाँक्रीजी त छुटिहाल्नु होला तर, उनीहरुले लोकतन्त्रको पक्षमा प्रखर ढंगले विचार राख्नेहरुमाथि आक्रमण गरेर लोकतन्त्रमाथि ताला लगाउने षडयन्त्र गरेका छन्’ उनले भने ।

केही दिन अघि प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा दाहाल नेपाल समूहले गोरखाको सिरान्चोकमा गरेको विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीविरुद्ध टिप्पणी गरेकी थिइन् । सोही आधारमा उनलाई राष्ट्रपति भण्डारीमाथि गालीगलौज गरेको अभियोगमा आज उनलाई पक्राउ गरेको हो ।