प्रहरी रामकुमारी झाँक्रीको निवासबाट तत्काल फिर्ता होऊ: योगेश भट्टराई

रामेछाप खबर संवाददाता

काठमाडौं, २९ माघ ।

नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न उनको निवास पुगेका प्रहरीलाई नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले तत्काल फिर्ता हुन आग्रह गरेका छन्। झाक्रीले राष्ट्रपतिविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उनलाई पक्राउ गर्न प्रहरी शंखमुलस्थित उनको निवासमै पुगेको छ।

‘रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतिका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतिलाई धुलीसात् गर्ने भए,’ भट्टराईले भनेका छन्, ‘राष्ट्रपति संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर।’

भट्टराईले यस कदमका कारण व्यक्तिगत रुपमा रामकुमारीलाई थप परिपक्व र अझ स्थापित गर्ने बनाउने बताएका छन्। ‘प्रहरी रामकुमारीको निवासबाट तत्काल फिर्ता होऊ,’ उनले भनेका छन्।

झाँक्री हाई हाई, विद्या-केपी बाई बाई’

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीलाई गालीगलौज गरेको आरोपमा पक्राउ गर्न प्रहरी घरमै पुगेपछि नेतृ रामकुमारी झाँक्रीको घर अगाडी सरकार-प्रहरीविरुद्ध नेकपा कार्यकर्ताले नाराबाजी गरेका छन् । झाँक्रीको पक्षमा नेकपा कार्यकर्ताहरूले चर्को नाराबाजी गरेका हुन् ।

‘प्रहरी प्रशासन- मुर्दावाद’ भन्दै बाहिर नाराबाजी भइरहेको छ । नेकपाका नेता कार्यकर्ताले ‘रामकुमारी झाँक्री हाई हाई, केपी ओली बाई बाई’ भन्ने नारा लागिरहेको छ ।

झाँक्रीले सुोधपुछका लागि बोलाएको जानकारी दिएकी छन् । दुई जना महिला प्रहरीसहित सादा पोशामा झाँक्रीलाई पक्राउ गर्न गएको प्रहरी टोली भने नाराबाजीपछि प्रहरीको संख्या थपिएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखा टेकुका प्रवक्ता कृष्णप्रसाद कोइरालाका अनुसार राष्ट्रपति भण्डारीमाथि लक्षित गरी अपमानजनक टिप्पणी गरेको विषयमा सोधपुछका लागि झाँक्रीलाई बोलाइएको बताए । ‘हामीले सोधपुछका लागि आज बोलाएका छौँ,’ उनले इकागजसँग टेलिफोनमा भने, ‘सोधपुछ गरेपछि के हुन्छ भन्‍ने थाहा भइहाल्छ ।’