प्रतिभा सम्हाल्नै गाह्रो : संगीतकार वसन्त सापकोटा

रामेछाप खबर संवाददाता

काठमाडौं ।

केही वर्षयता नेपाली सांगीतिक क्षेत्रमा अनपेक्षित रूपमा कम उमेरका बालबालिकाले लोभलाग्दो चर्चा कमाइरहेका छन् । यसको पछिल्लो उदाहरण हुन्– सचिन परियार । उनका गीत जति चर्चित छन्, त्योभन्दा धेरै उनको चर्चा छ । युट्युबमा उनको उपस्थिति जति बाक्लो देखिन्छ भ्युज पनि त्यति नै उल्लेख्य छ ।

उनको गीतभन्दा पनि थेगो लोकप्रिय छ । उनको थेगो ‘के छ हजुर’ लोकप्रिय छ । उनलाई गीत गाउन लगाउनेहरूले उनको स्वरभन्दा पनि यही थेगोलाई ‘क्यास’ गर्न खोजेका छन् । उनले युट्युबमा ट्रेन्डिङको स्वादसमेत चाखिसकेका छन् ।

गुल्मीका ९ वर्षीय सचिनको कमेडीलाई युट्युबमा रुचाए पनि उनलाई गीत गाउन लगाउनेहरूले पनि उनको कमेडीलाई समावेश गरेको देखिन्छ । उनले अस्मिता अधिकारी, रचना रिमाललगायतसँग गीत गाइसकेका छन् । उनले गीत गाउने मात्रै होइन अभिनय पनि गरेका छन् । केही दिनअगाडि कमला घिमिरे, करुणा राई र गोविन्द पौडेलको स्वर रहेको गीतमा राजेश हमालसँगै सचिनले अभिनय गरेका थिए ।

सानै उमेरमा गीत गाएर चर्चित हुने उनी पहिलो व्यक्ति होइनन् । दुई वर्षअगाडि कमला घिमिरेको चर्चा पनि कम लोभलाग्दो थिएन । कलिलो उमेरमै गायनमा प्रवेश गरेर उनले धेरै गीत गाइन् । लोकदोहोरी गायनका ‘भेट्रान’हरूसँग उनले गीत गाउने अवसर पाइन् ।

बद्री पंगेनी, राजु परियार, अमृत सापकोटालगयत थुप्रै लोकदोहोरी गायकसँग उनले गीत गाइसकेकी छिन् । उनी गीत गाउने मात्रै होइन स्टेज कार्यक्रमसमेत गर्न थालिसकेकी छिन् ।

उनका गीतमा थुप्रै लोकप्रिय कलाकारहरूले अभिनय पनि गरिसकेका छन् । कमला पनि सचिनजस्तै युट्युबमा ‘भाइरल’ भएकी थिइन् । उनका गीत अहिले पनि वाक्लै रूपमा सार्वजनिक भइरहेका छन् ।

केही वर्षअगाडि अर्का बालक अशोक दर्जी पनि अनपेक्षित रूपमा सांगीतिक क्षेत्रमा प्रवेश गरे । उनी पनि लोकप्रिय भए । टंक बुढाथोकीले उनको स्वरमा गीत रेकर्ड गराइदिए । उनले गाएका गीत लोकप्रिय भए । उनका गीत मात्रै होइन उनका अन्तर्वार्ता पनि युट्युबमा धेरैले हेरेका थिए ।

यी तीनैजना सामाजिक सञ्जाल र युट्युबमार्फत आमदर्शक तथा स्रोतामाझ ‘नोटिस’ भएका बाल प्रतिभा हुन् ।

संगीतकार वसन्त सापकोटा बालप्रतिभा आउनु स्वागतयोग्य भए पनि ‘मिस युज’ भने हुन नहुने बताउँछन् । पछिल्लो समय गायनमा आएका बालप्रतिभाको प्रयोगभन्दा पनि दुरुपयोग बढी भएको उनको बुझाइ छ ।

“प्रतिभा नभइ कोही पनि बाहिर आउन सक्दैन । आफूसँग भएको प्रतिभालाई जनताले मन पराएपछि त्यसलाई परिस्कृत बनाउँदै लैजानुपर्छ,” संगीतकार सापकोटा भन्छन्, “तर जसरी पछिल्लो समय कोही बच्चा उसको प्रतिभाका कारण मन पराइएपछि उसलाई कसरी हुन्छ भाइरल बनाउन थालियो ।”

निहित स्वार्थका कारण जस्तोसुकै उपाय अपनाएर भाइरल हुने चक्करमा लाग्दा यसले ‘भाइरल’ भन्ने शब्द नै रोगकै भाइरस जस्तै हुन थालेको उनी बताउँछन् ।

दुई–चारदिन अनपेक्षित रूपमा चर्चामा आउने र केही समयमै हराउने गर्नाले भएको प्रतिभा पनि केही समयपछि हराएर जाने उनको भनाइ छ । यसका लागि ‘गाइड’ गर्ने व्यक्ति सचेत हुनुपर्ने सापकोटा बताउँछन् । “जनताले मन पराउनुभयो भन्दैमा गाउने व्यक्तिलाई नचाउनेदेखि हिरो बनाउनेसम्म काम भइरहेको छ । यसले प्रतिभाको लोकप्रियता जोगाउँदैन, उल्टो क्षय गर्छ,” उनी भन्छन्, “अहिले भइरहेको पनि त्यही नै हो । यसबाट सचेत हुनुपर्छ । उसमा भएको प्रतिभालाई अझै परिस्कृत गर्दै लैजान र उसलाई यही क्षेत्रमा राखिराख्न संगीतको ज्ञान पनि दिँदै जानुपर्छ । अहिले हाम्रोमा यही नभएका कारण प्रतिभा आउने र केही समयमै हराउने भइरहेको छ ।”

कलिलो उमेरका कारण प्रतिभाले आफूलाई सम्हाल्न नसक्ने अवस्था भएका कारण परिवार र उनीहरूको प्रतिभा पहिचान गरेर अवसर दिने व्यक्तिले सही र गतल के हो छुट्याउन सक्नु पर्ने अन्यथा प्रतिभा पलायन हुने सम्भावना उच्च हुने भन्दै यसमा सचेत हुन संगीतकार सापकोटाको सुझाव छ ।