केपी ओली छटपटिएर, आत्तिएर विक्षिप्त छन् : दाहाल

रामेछाप खबर संवाददाता

काठमाडौं, २८ माघ ।

नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पमकल दाहालले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सदर भएको खण्डमा नेपालमा ठूलो राजनीतिक भूमरिमा फस्ने बताएका छन् । नेपालबाट अन्तराष्ट्रिय सञ्‍चार माध्यमका लागि काम गर्दै आएका पत्रकारहरुसंग मंगलबार काठमाण्डौमा भएको भेटमा दाहालले बाहिर सुन्‍नमा आएजस्तै सेटिङ अनुसार नै निर्वाचन आयोग र सर्वोच्च अदालतको निर्णय आयो भने मुलुक ठूलो राजनीतिक भूमरिमा फस्‍ने बताएका हुन् । उनले आफूहरु संविधानको अक्षर र भावना अनुसार नै न्यायलयबाट निर्णय आउने विश्वस्त रहेको पनि बताए ।

प्रधानमन्त्री ओलीले संविधान भन्दा बाहिर गएर गरेको निर्णयलाई सर्वोच्चले सदर गर्छ भनेर आफूलाई नलागेको दाहालको भनाइ छ । उनले ओलीको कदम अनुसार नै भयो भने आफूहरुले गम्भीर रुपमा विचार गर्नुपर्ने अवस्था सृजना हुने बताए । उनले असंवैधानिक र अलोकतान्त्रिक कदम अनुसारको निर्वाचन पनि अलोकतान्त्रिक र असंवैधानिक नै हुने तर्क गरे ।

‘यदि प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र स्वच्छेचारी कदमलाई सदर गरियो भने देश निकै ठूलो राजनीतिक भूमरिमा नेपाल पर्छ ।संवैधानिक र अलोकतान्त्रिक ढंगले संविधान मिचिइसकेपछि त्यसको मातहतमा आयोजना हुने निर्वाचन पनि असंवैधानिक र अवैधानिक नै हुन्छ,’ दाहालले भने, ‘यदि प्रधानमन्त्रीले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई जे भन्यो त्यही मान‍्ने मान्छे ठान्‍नुभएको छ भने निकै ठूलो भ्रम हो भन्ने हाम्रो भनाइ छ । यदि सेटिङ नै भए जसरी निर्णय भयो भने हामी गम्भीर ढंगले सोच्छौँ । त्यो निर्वाचनलाई हामी सहज ढंगले लिन सक्ने स्थिति हुदैन । नैतिक रुपले अनि राजनीतिक रुपमा निकै ठूलो प्रश्न खडा हुन्छ । हामी निर्वाचन विरोधी होइनौ र हुनैसक्तैनौ तर असंवैधानिक र अलोकतान्त्रिक तरिकाले जबरजस्ती भनियो भने त्यो अबैधानिक, असंबैधानिक र अलोकतान्त्रिक निर्वाचनका बारेमा हामीले गम्भीर रुपमा विचार गर्नुपर्ने नै हुन्छ ।’

दाहालले प्रधानमन्त्री ओली आफैँले प्रतिगमन गरेर आफैँ प्रतिगमनका विरुद्ध सभा आयोजना गर्नु आश्‍चर्यजनक रहेको टिप्पणी गरे । उनले सरकारको संविधान विरोधी कदमविरुद्ध आफूहरु संघर्षमा लाग्‍नु स्वभाविक भएपनि सरकारपक्षले नै सभा गरेर तेश्रो जनआन्दोलन सुरु भयो भन्‍नु लोकतन्त्रविरुद्धको उपहास भएको बताए । उनले प्रधानमन्त्री ओलीले राज्यशक्तिको दुरुपयोग र प्रतिष्पर्धामा उत्रिएको पनि बताए ।

‘प्रधानमन्त्री आफैले सभा गर्ने र ती सभाबाट तेश्रो जनआन्दोलन सुरु भयो भनेर प्रधानमन्त्री नजिकका मान्छेहरुले सभामा बोल्ने, प्रतिगमन विरोधी तेश्रो जनआन्दोलन भन्ने । यो अनौठो कुरा नेपालमा देखियो,’ उनले भने, ‘सायद पहिलो पटक देखियो प्रधानमन्त्री आफैँ विरोधमा उत्रने । केको विरोधमा हो ? यो अनौठो र अस्वभाविक छ । यो लोकतन्त्रविरुद्धको उपहास जस्तो लाग्छ । एउटा प्रहसन जस्तो लाग्छ । हामी प्रतिष्पर्धामा होइनौँ । छटपटिएको चाहिँ प्रधानमन्त्री हो । उहाँ आत्तिनुभएको छ । अहिले उहाँ विक्षिप्त भएको जस्तो हामीले महसुस गरेका छौ ।’

प्रधानमन्त्रीले निरंकुश ढंगले आफ्नो शासन लम्ब्याउन खोजेको र त्यो पुरा नहुने ठोकुवा दाहालले गरे । उनले मुलुकमा लोकतन्त्र खतरामा परेकाले सबै लोकतन्त्रवादी अन्तराष्ट्रिय समुहदायसँग समर्थनका लागि अपिल पनि गरिएको बताए । ‘यसबीचमा हाम्रो अलग-अलग सबैसँग कुरा भइरहेको छ । भारतसँग, चीनसँग, अमेरिकासँग, युरोपियनहरुसँग पनि कुरा भइरहेको छ,’ उनले भने, ‘हामीले सार्वजनिक अपिल पनि गरेका छौ अन्तराष्ट्रिय समुदायलाई, नेपालमा लोकतन्त्रको हत्या भईरहेको छ लोकतन्त्रको पक्षमा हुने सबैको समर्थन नेपाली जनतालाई चाहियो भनेर औपचारिक अपिल गरेका छौँ । अलग-अलग भेटेर कुरा पनि गरेका छौ ।’