किन बन्द भयो हार्ले डेभिडसनको शोरुम,यस्तो छ कारण

रामेछाप खबर संवाददाता

काठमाडौं, २७ माघ ।

अमेरिकी मोटरसाइकल ब्राण्ड हार्ले डेभिडसनको काठमाडौंको शोरुम बन्द भएको छ। हार्लेको नेपालको लागि आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले २ करोड हाराहारीको खर्चमा निमार्ण गरेको गैह्रीधाराको शोरुम बन्द गरेको हो।

विक्री नभएको कारण हालको लागि आयात होल्ड गरिएको आइएमई अटोमोटिभ्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले जानकारी दिए।

‘विक्री भए न आयात गर्ने हो। कम्पनीले अहिलेको साइज भन्दा सानो साइजमा रहनुपर्छ भनेर नयाँ तरिकाले जान लागेको हो। ब्राण्डनै बन्द भने गरेको होइन,’ उनले सेतोपाटीसगँ भने। गैह्रीधाराको शोरुम भने पूर्ण रुपमा बन्द गरेर नयाँ ठाउँमा सार्न गर्न लागेको भट्टराईले जानकारी दिए।

‘हामीले बिक्री पछिको सेवा र माग अनुसारका मोटरसाइकल विक्री रोक्दैनौ। यो महंगो मोटरसाइकल भएकोले स्टक राखिरहनु जरुरत छैन,’ उनले सेतोपाटीसगँ भने।

आधिकारिक रुपमा नेपाल भित्रिएको अढाई वर्षमा आईएमई अटोमोटिभ्सले १५/१६ वटा मोटरसाइकल सेल्स गरेको र अव ४/५ वटा मात्रै स्टक रहेको भट्टराईले जानकारी दिए।

हार्ले डेभिडसन २०७५ सालमा भएको नाडा अटो शोमा आधिकारिक रुपमा नेपाल भित्रिएको थियो। यसअघि हार्ले डेभिडसन भारतीय बजारबाट समेत बाहिरी सकेको छ।