करिष्मा मानन्धरलाई महानायिका उपाधि,सहि कि गलत ?

रामेछाप खबर संवाददाता

काठमाडौं, २७ माघ ।

महानायक उपाधिका कारण बारम्बार अभिनेता राजेश हमाल चर्चामा आइरहन्छन्। केही समयअघि मात्रै नायिका तथा निर्देशक दीपाश्री निरौलाले महानायक उपाधिका बारेमा एक टेलिभिजनमा अन्तवार्ता दिएर विवादित बनेकी थिइन्।

उनले यतिसम्म गाली सहनुपर्‍यो कि, उनले रुँदै माफी नै माग्नुपर्‍यो। दीपाले माफी मागेपछि त्यो समयमा नै केही महिला अधिकारकर्मीहरूले महानायिकाको पनि माग गरेका थिए।

त्यही माग पूरा गरेको छ, आरके इन्टरटेनमेन्ट ग्रुपले। यो ग्रुपले आफ्नो बिसौं वार्षिकाेत्सवको अवसर पारेर नायिका करिष्मा मानन्धरलाई महानायिकाको उपाधिबाट सम्मान गरेको छ। आज भन्दा एघार वर्षअघि आफ्नो नवौं वार्षिकोत्सवको अवसर पारेर यही ग्रुपले नै राजेश हमाललाई महानायक बनाएको थियो।

करिष्माले सानै उमेरदेखि फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन्। करिष्मा १४ वर्षकी हुँदा २०४२ सालमा फिल्म सन्तानबाट फिल्मी दुनियाँमा प्रवेश गरेकी थिइन्। त्यसको करिब तीन दशकसम्म नेपाली फिल्म क्षेत्रमा उनले राज गरिन्।

यो समयमा मायालु, कस्तुरी, वसन्ती, ट्रक ड्राइभर जस्ता फिल्मलाई दर्शकले रुचाएका थिए। महानायिका उपाधिमा विवाद आइरहे पनि करिष्माले भने खुशीका साथ यो सम्मान लिएकी छन्। उनले आफू एक कलाकार भएको भन्दै आफू महानायिका हुन पाउँदा खुशी लागेको बताएकी छन्।

साथै जस्तोसुकै परिस्थिति आएपनि फिल्मी दुनियाँबाट टाढा नहुने प्रतिवद्धता जनाएकी छन्।