चीनमा युवकहरूको पुरुषत्व बढाउन सरकारले जारी गर्‍यो आदेश

रामेछाप खबर संवाददाता


चीनको शिक्षा मन्त्रालयले जारी गरेको एक नोटिसका कारण चिनियाँहरू आक्रोशित बनेका छन् । यस सूचनामा चिनियाँ युवकहरू महिला जस्तो हुँदै गएको भनी टिप्पणी गरिएकाले मानिस रिसाएका हुन् ।

देशका लोकप्रिय पुरुष मोडलहरू सेनाका नायक जस्तो बलियो र हृष्टपुष्ट नभएको भनी चीन सरकारले चिन्ता व्यक्त गरेको छ ।राष्ट्रपति सी चिनफिङ आफैं फूटबल प्रेमी हुन् र उनी पनि देशमा राम्रा खेलाडीहरू जन्मिऊन् भन्ने चाहन्छन् ।

किशोरहरूमा किशोरीको जस्तो प्रवृत्ति रोक्नका लागि यस नोटिसमा शारीरिक शिक्षामा सुधार ल्याउने कुरा झिकिएको हो । यसलाई ध्यान दिँदै शिक्षकहरूको बहालीलाई पनि दुरुस्त पार्न भनिएको छ ।

सेवानिवृत्त खेलाडी तथा खेलकुदको पृष्ठभूमि भएका मानिसलाई शिक्षकका रूपमा बहाल गर्न भनिँदैछ । फूटबल जस्ता खेलमा विशेष ध्यान दिएर विद्यार्थीहरूमा पुरुषत्व जगाउने कोशिश गरिएको छ ।

पोहोर साल मे महिनामा चीनको शीर्ष सल्लाहकार समितिका प्रतिनिधि सी जेफूले चीनका युवकहरू कमजोर, डरछेरुवा र हीन भावनाले ग्रस्त रहेको बताएका थिए ।

उनले चिनियाँ पुरुषहरू महिला जस्तो बन्दै गएको र यस समस्यालाई प्रभावकारी रूपमा समाधान नगरिएमा चिनियाँ राष्ट्रको विकास र अस्तित्व खतरामा पर्न सक्ने दाबी उनले गरेका थिए ।

यसका लागि आंशिक रूपमा घरको वातावरण पनि जिम्मेवार रहेको किनकि धेरैजसो बालकको लालनपालन आमा र हजुरआमाले गर्छन्, सीले बताए ।

पुरुष सेलेब्रिटीहरूको क्रेज पनि यसका लागि जिम्मेवार रहेको उनले बताए । यसैले गर्दा युवकहरू सेनाको नायक जस्तो बन्न नचाहेको उनको भनाइ छ । उनले विद्यालयहरूलाई युवकहरूको सन्तुलित शिक्षा दिन ठूलो भूमिका निर्वाह गर्नुपर्ने बताए ।

शिक्षा मन्त्रालयको यस नोटिसलाई धेरैजसो चिनियाँहरूको प्रतिक्रिया नकारात्मक छ । यो लिंगभेदी निर्णय भएको मानिसहरूको भनाइ छ ।

पप स्टारहरू स्त्रैण भएको चर्चा गरिँदैछ ।

सरकारको जोड फूटबल खेल प्रवर्द्धनमा छ । राष्ट्रपति सीले सन् २०५० सम्म चीनलाई विश्व फूटबलको महाशक्ति बनाउने आशा लिएका छन् ।

तर चिनियाँ फूटबललाई अघि बढाउने कोशिशहरू विफल रहिआएका छन् । यसलाई असम्भव कार्य भनी मजाक पनि उडाइएको छ ।

सन् २००६ को फूटबल विश्वकपमा इटलीलाई जीत दिलाउने मार्सेलो लिप्पीले दुई वर्षअघि चीनको राष्ट्रिय फूटबल टोलीको प्रशिक्षक पदबाट राजीनामा दिँदा यस्तो प्रतिक्रिया आएको थियो ।

यसैबीच चीन सरकारले हालैका महिनामा चिनियाँ युवकहरूका लागि नयाँ रोलमोडल तयार पारिरहेको छ ।

चिनियाँ पुरुषमा बलियो र निडर सैन्य जवान, प्रहरी तथा अग्निनियन्त्रक बन्ने अपील कम भइरहेकोमा चिन्ता व्यक्त गरिएको छ ।