फिलिपिन्समा ६.३ म्याग्निच्युडको भूकम्प

रामेछाप खबर संवाददाता

फिलिपिन्स, २५ माघ ।

आइतबार फिलिपिन्समा ६.३ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार डाभाओ डेल सुर प्रान्तको दक्षिणी भेगमा केन्द्रबिन्दु बनाएर स्थानीय समय १२:२२ मा भूकम्प गएको हो। यसले केही क्षति पुर्‍याएको र अझै पराकम्पनहरू आउन सक्ने आशंका गरिएको रोयटर्सले जनाएको छ।

फिलिपिन्स इन्स्टिच्युट अफ भोलक्यानोलोजी एन्ड सेस्मोलोजी (फिभोल्क्स)ले त्यस भूकम्पको गहिराइ १५ किलोमिटर रहेको बताएको छ। यो टेक्टोनीक खालको भूकम्प रहेको बताइएको छ।
आइतबार बिहान साढे ७ बजे पनि सोही क्षेत्रमा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो। क्षति विवरण आइसकेको भने छैन।

म्यानमारमा सैन्य कू विरुद्ध प्रदर्शन चर्किँदै

म्यानमारमा सैन्य कू विरुद्ध प्रदर्शन चर्किएको छ । दोस्रो दिन पनि याङ्गुनमा एक हजार भन्दा बढि मानिस प्रदर्शनका लागि भेला भएका छन् ।हप्ता दिन पहिले म्यानमारकाे सेनाले निर्वाचित सरकारलाई हटाएर सत्ता आफ्नो हातमा लिएको थियो।

आङ साङ सूकीसहितका नेताहरुलाई गिरफ्तार गरेर सेनाले म्यानमारमा एक वर्षका लागि संकटकाल घोषणा गरेको छ। एएफपी समाचार संस्थासँगको कुराकानीमा प्रदर्शनकारी मियो विनले आफूहरु प्रजातन्त्रका लागि अगाडि आएको बताए।

याङ्गुन विश्वविद्यालय नजिक प्रहरीका ट्रक तथा दंगा नियन्त्रण साधनहरु तैनाथ गरेको छ। याङ्गुनसहित अरु शहरहरुमा पनि प्रदर्शन भएको छ।
मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले म्यानमारमा भएको इन्टरनेट सेवा बन्दको निन्दा गरेको छ। मानवअधिकारको गम्भीर उल्लंघनका घटना बढ्ने जोखिम बढ्दै गएको एम्नेस्टीको भनाई छ।