पहिलो नेपाली महिला रेस्लरको रोमाञ्चक कथा

रामेछाप खबर संवाददाता


भगवती खड्कालाई त्यो घटनापछि गाउँभरि सबैले ‘राजेश हमाल’ भन्न थाले। उनी नौ कक्षा पढ्दाको कुरा हो। स्कुलबाट घर फर्कंदै थिइन्। मोडमा एक जना केटीसाथी भेटिइन्, जोसँग भगवतीको मनमुटाव थियो। उनी भगवतीलाई कुटाउन चार जना केटा लिएर आएकी रहिछन्।

उनलाई देख्नेबित्तिकै चारै जना एकैचोटि जाइलागे।

एक्कासि हमलाले भगवतीलाई सम्हालिन बेर लाग्यो। जब सम्हालिइन्, उनमा साक्षात् भगवती चढेझैं भयो। अनि सुरु भयो, ती केटाहरूको रामधुलाइ। उनले चारै जनालाई धोबीले कपडा पछारेझैं यस्तरी पछारिन्, ती लाज जोगाउन भाग्ने नौबत आयो।

भगवतीको यो बल उनको साथीलाई थाहा थियो। रिसले रनक्क भइन् भने यिनी मातेकी हात्ती हुन्छिन् भन्ने जानेकी थिइन्। त्यसैले, पूरा तयारीका साथ आएकी रहिछन्। चारै जनाले मात खाएपछि बचाउमा अरू केटाहरू आए। यसपालि चार–पाँच जना होइन, आठ–दस जना पनि होइन। सबै गरी २० जना जम्मा भएका थिए, भगवतीलाई घेर्न।

उनी पनि के कम!

ती बीसै जनासँग एक्लै भिडिन्। उनी ती सबैको हमलाबाट आफूलाई जोगाइरहेकी थिइन्, सँगसँगै सबैलाई लखतरान पारिरहेकी थिइन्। बीस–बीस जना मिलेर घेर्दा पनि हराउन नसकेपछि उनीहरू सुइँकुच्चा ठोके। यत्रो भिडन्तमा पनि भगवतीलाई कुनै ठूलो चोट लागेन।

यही घटनापछि उनले नयाँ नाउँ पाइन्– राजेश हमाल।

‘त्यो साथी मेरो बारेमा कुरा काट्दै हिँड्दो रैछ, मैले थाहा पाएँ, झनक्क रिस उठ्यो, स्कुलमै भनाभन भयो,’ उनले भनिन्, ‘पछि मलाई पिट्न ग्याङ लिएर आइछ। मैले एक–एक गरी सबैलाई ढालिदिएँ। त्यो मेरो पहिलो फाइट थियो।’

जिन्दगीको पहिलो ‘फाइट’ बाटै आफ्नो परिचय बदलेकी २९ वर्षीया भगवतीले आज ‘फाइटर’ कै परिचय बनाएकी छन्- उनी नेपालकी पहिलो महिला कुस्तीबाज (रेस्लर) हुन्।

हामीकहाँ पुरुषको तुलनामा महिला खेलाडीको उपस्थिति कम छ। खेलाडीको वर्तमान संघर्षपूर्ण र भविष्य अन्यौलग्रस्त हुन्छ भन्ने मान्यताका कारण खेलकुद क्षेत्र धेरै कम महिलाको प्राथमिकतामा पर्छ। जो यो क्षेत्रमा हाम्फाल्छन्, उनीहरू पनि पुरुष खेलाडीको छायाँमा पर्ने गरेको राष्ट्रिय खेलकुद परिषदका रोहितकुमार दाहाल बताउँछन्।

यति हुँदाहुँदै कराते, उसू, तेक्वान्दो, जूडो, पौडीजस्ता खेलमा महिला सहभागिता उल्लेख्य मात्र छैन, उनीहरूले खेलकुदकै माध्यमबाट आफ्नो परिचय बनाएका छन्।

तिनैमध्ये एक हुन्, महिला रेस्लर भगवती।

रामेछाप, मन्थली नगरपालिका-१२, अम्बास बेलीकी भगवतीको उचाइ ५ फिट ८ इन्च छ भने तौल ८१ किलो। उनी सानैदेखि मोटीघाटी थिइन्। माछामासु र दूध-दही निकै खाने हुँदा ज्यान बलियो थियो। त्यही बल रेस्लिङमा काम लागेको उनी बताउँछिन्।

उनको खान्की अहिले पनि उस्तै भरिलो छ। माछामासुका अतिरिक्त दिनहुँ थुप्रै अन्डा खाने गरेकी छन्। एकैपटकमा २१ वटासम्म खाएको अनुभव छ।

ज्यानले सानैमा कुस्तीबाजजस्तो देखिए पनि त्यतिबेला उनको इच्छा गायिका बन्ने थियो। उनी खुब रेडियो सुन्थिन्। स्कुलका कार्यक्रममा आफैंले लेखेको गीत गाउँथिन्। छोरीको यस्तो सोख देखेर बुवा खुसी थिए।

परिवारकै सहमतिमा उनी एसएलसीपछि काठमाडौं छिरिन्, गायिका बन्न। उनको भाग्यमा भने रेस्लर बन्न लेखेको रहेछ। भगवती कुशल ‘फाइटर’ हुन् भन्ने त परिवारलाई थाहा थियो, तर रेस्लर बन्ने निर्णयमा खासै खुसी थिएन।

‘फाइट खेल्नमा पो च्याम्पियन, म रेस्लर नै बन्छु भनेर त कसले पो सोचेका थिए र!’ उनले भनिन्, ‘मलाई यो क्षेत्रमा लाग्न प्रोत्साहन गर्ने कोही थिएन। राम्रो, नराम्रो जे भए पनि मैले आफैं रोजेकी हुँ। यत्ति कुरामा भने परिवारले साथ दिएकै भन्छु म,उनीहरूले मेरो निर्णयमा कहिल्यै बाधा–विरोध गरेनन्।’

गायनको इच्छा त्यागेर खेलकुदमा लागे पनि भगवती सिधै रेस्लर बनेकी होइनन्। यहाँसम्म आइपुग्ने क्रममा उनले अर्को एउटा विधामा सफल खेलाडीको पगरी भिरेकी छन्– भारत्तोलन।

आफू खेलकुद क्षेत्रमा लाग्नुको श्रेय भगवती कलेजमा भेट भएको साथी स्वस्तिका पोखरेललाई दिन्छिन्।

जाडो याममा बाक्लो कपडा लगाएर कलेज जाँदा उनको ज्यान कुनै पहलवानभन्दा कम देखिन्थेन। स्वस्तिकाले उनको ज्यान हेरेरै भारत्तोलन खेल्न सुझाएकी थिइन्। सुरुमा अन्कनाएकी भगवती पछि स्वस्तिकाकै करकापमा राष्ट्रिय भारत्तोलन खेलाडी झम्क कटवालसँग तालिम लिन रंगशाला पुगिन्।

यहीँबाट खेलकुद क्षेत्रमा उनको प्रवेश भयो।

उनले २०६५ सालमा भक्तपुरमा भएको राष्ट्रिय खेलमा १३५ किलो तौल उठाएर कास्य पदक जितिन्।

भारत्तोलनमा उनको टख बस्दै थियो। शरीरले पनि साथ दिएकै थियो। त्यही बेला हातले साथ दिएन। आठ महिनापछि उनले भारत्तोलन खेल्न छाडिदिइन्।

यसबीच बक्सिङ, कराते र पौडी सिकिन्। गितार, भोकल, फिल्म फाइट र नृत्य पनि सिकिन्। गायिका बन्ने रहर पूरा गर्न‘युनिका’ एल्बम निकालिन्। त्यही एल्बमबाट उनले आफ्नो ‘निक-नेम’ जुराइन्– युनिका। भगवती रेस्लिङमा यही नाउँले परिचित छिन्।

भारत्तोलन छाडेर फिल्मको फाइट र नृत्य सिक्ने क्रममा उनलाई भोजपुरी फिल्म ‘हम है हिरो हिन्दुस्तानी’ खेल्ने प्रस्ताव आयो। त्यसपछि उनी नेपाली फिल्म ‘प्रतिकार’ मा खलनायिका भइन्। अरू पनि केही फिल्म र टेलिसिरियलमा काम गरेकी छन्।

फिल्म क्षेत्रमा प्रशंसा कमाए पनि उनको टख बसेन।

त्यही बेलाको कुरा हो, फाइट गुरू योगेन्द्र श्रेष्ठले उनलाई भने, ‘तिमीले रेस्लिङ गर्यौ भने एकदम राम्रो हुन्छ।

भगवतीलाई त्यतिबेलासम्म नेपालमा पनि महिला रेस्लिङ हुन्छ भन्ने थाहै थिएन। नेपाली रेस्लरका रूपमा उनलाई ‘हिमालयन टाइगर’ को नाम मात्र थाहा थियो। एकदिन प्रज्ञा भवनमा गाईजात्रा कार्यक्रम हेर्न जाँदा अकस्मात् उनैसँग भेट भयो।

भगवतीले उत्साहित हुँदै सोधिन्, ‘सर, के म रेस्लर बन्न सक्छु?’

‘तिमीलाई इच्छा छ भने अवश्य बन्न सक्छौ,’ पहिलो भेटमै हिमालयन टाइगरको भनाइ उद्धृत गर्दै उनले भनिन्, ‘आऊ, म तालिम दिन्छु।’

उनी भोलिपल्टै गुर्जुधारा पुगिन्।

हिमालयन टाइगरको प्रशिक्षण केन्द्रमा केटा मात्र थिए। तिनले एक्ली भगवतीलाई हेप्ने, अपशब्द बोल्ने गर्न थाले। ‘गुरूले पनि अभ्यासमा एकदमै पिट्नुहुन्थ्यो, कहिलेकाहीँ त कपालै उखेलिन्थ्यो, जहाँ पायो त्यहीँ हात पर्थ्यो,’ उनले सम्झिइन्, ‘एकपटक पिटाइ खाँदा दाँतको गिजा र गाला नै सुन्नियो। सधैं यस्तो भएपछि भागेर जाउँजस्तै भयो। तर, मैले आफूलाई सम्हालेँ र फाइट सिकिरहेँ।’

लजालु स्वभावकी भगवती दुई महिनासम्म चुपचाप सारा कष्ट सहेर कुस्ती सिकिरहिन्। उनलाई ‘गुरूको त्यही कठिन प्रशिक्षणकै नतिजाले आफू यहाँसम्म आइपुगेको’ भन्ने लाग्छ। हुन पनि भगवतीलाई पहिलो अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्तमा उतार्ने उनै कुस्तीगुरू हिमालयन टाइगर थिए।

२०६९ मंसिर १६ गतेको दिन थियो। सन्धीखर्कमा आयोजित पहिलो खेलमा भगवती विदेशी महिला रेस्लरसँग रिङमा ओर्लिइन्। नेपालमा पनि महिला रेस्लर छ भन्ने नेपाली दर्शकले त्यतिबेलै थाहा पाए।

‘जिन्दगीमा कहिल्यै कसैसँग डराइनँ, त्यस दिन विदेशी खेलाडीसँग रिङमा आउँदा भने मन भारी भएर आयो,’ भगवतीले भनिन्, ‘त्यत्राविधि दर्शकको अगाडि कसरी खेल्ने होला भनेर मुटु ढुकढुक भयो।’

जब दर्शकदीर्घाबाट ‘नेपाल… नेपाल’ भन्ने हुटिङ सुरु भयो, उनको डर साहसमा बदलियो।

‘दर्शकको हुटिङ सुनेर म त यति आवेशमा आइछु, प्रतिद्वन्द्वीको कपाल नै भुत्लाइदिएछु,’ भगवतीले पहिलो खेलको अनुभव सुनाइन्।

उक्त खेलमा भगवतीले जित्न भने सकिनन्।

‘सायद अनुभवको कमीले,’ उनले भनिन्, ‘तीन दिनपछि बुटवलमा भएको दोस्रो खेल भने मैले जितेँ।’ रेस्लिङको पहिलो जितमा पाँच हजार रुपैयाँ इनाम पाएको उनी सम्झन्छिन्। आज उनी एउटै खेलबाट ५० हजारसम्म लिन्छिन्। यो पहिलो प्रतियोगिताले उनको साहस र आत्मविश्वास मात्र बढाएन, ‘नेपालकी पहिलो महिला रेस्लर’ को उपाधि पनि दिलायो।

अन्जान भगवती एकाएक ‘मिडिया आइकन’ बनिन्।

‘बल्ल मलाई लाग्यो, ओहो! यो रेस्लिङ त गज्जब रमाइलो हुँदो रहेछ,’ उनले सोचिन्, ‘अब म यसैमा भविष्य बनाउँछु।’

त्यसयता भगवतीले राष्ट्रिय-अन्तर्राष्ट्रिय थुप्रै रेस्लिङमा भाग लिइसकेकी छन्। भारतको नयाँ दिल्लीमै सातवटा खेल खेलिसकिन्। सधैं टेलिभिजनमा हेर्दै आएको ‘डब्लुडब्लुई’ खेल त्यहीँ गएर खेल्ने उनको अबको लक्ष्य छ।

‘मलाई डब्लुडब्लुई’ का अन्तर्राष्ट्रिय सुपरस्टारहरूसँग खेल्ने मन छ,’ उनले भनिन्, ‘यस्तो शारीरिक कष्ट हुने जोखिमपूर्ण खेलमा पनि नेपाली महिला कम छैनन् भनेर म विश्वलाई देखाउन चाहन्छु। डब्लुडब्लुईमा नेपालको झन्डा फहराउन चाहन्छु।’

यसका लागि ५०–६० जना महिला रेस्लर तयार गरेर देशभर कार्यक्रम गर्ने तयारीमा लागेको उनी बताउँछिन्। उनले महिला रेस्लिङ फाउन्डेसन पनि खोलेकी छन्, जसमा २० जना विद्यार्थी सिक्न इच्छुक छन्। आर्थिक समस्याले सिकाउने रिङ भने बनाउन सकेकी छैनन्।

‘हामीकहाँ महिला रेस्लरको कमी छ। म आफैंलाई कोसँग अभ्यास गर्ने भन्ने समस्या पर्छ,’ उनले भनिन्, ‘म अस्मिता सुनुवार (जुरेली) सँग खेल्छु। उनलाई मैले नै फिल्म ‘हवल्दार सुन्तली’ को सुटिङमा भेटेर ल्याएकी हुँ र तालिम दिएकी हुँ।’

भगवती र अस्मिताले ४५ वटाभन्दा बढी खेल खेलिसके। दर्शकले उनीहरूको जोडी रुचाएका छन्। एकपटक अस्मिताको कानको जाली नै फुट्ने गरी हिर्काएको उनी सम्झन्छिन्। ‘जुरेलीले सात दिनसम्म कान सुनिनन् रे,’ भगवतीले भनिन्।

दर्शकलाई मनोरन्जन दिने खेलका रूपमा लिइने रेस्लिङमा थोरै अभिनय पनि मिसिएको हुन्छ, तर यो एकदमै जोखिमपूर्ण खेल भएको उनको बुझाइ छ। ‘कहिलेकाहीँ अनुहारमै मुक्का पर्छ। कुर्सी हान्दा गाला नै फुट्न सक्छ। रेस्लिङ खेल्ने हो भने ती सबैका लागि तयार हुनुपर्छ। एउटा खेलमा बाहिरको ढुंगा लागेर हातमा घाउ नै भयो,’ घाउको खत देखाउँदै उनले भनिन्।

खेलले दिने प्रशंसा र दर्शकको मायासामु यी सबै घाउखत सामान्य लाग्ने उनी बताउँछिन्। गायिकाबाट खलनायिका हुँदै रेस्लर बनेकी भगवतीको परिचय पनि यही खेलले बनाएको हो।

‘म जानी–नजानी रेस्लिङमा आएँ, पछि यसैले मलाई चिनायो,’ उनले भनिन्, ‘अब यसैबाट देशको नाम फैलाउन सक्छुजस्तो लागेको छ।’

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।