सडकको भोजन : नारायणकाजीलाई मकै–भटमास, प्रचण्डलाई चिउरा–दालमोठ !

रामेछाप खबर संवाददाता

काठमाडौं, २३ माघ ।

नेकपा प्रचण्ड–माधव पक्षले बिहीबार गरेको आमहड्तालमा सहभागी नेताहरुको दृश्य र रुप अरु दिनको तुलनामा फरक देखिन्थ्यो ।
आन्दोलनका क्रममा नेताहरुले सडकमै खानादेखि बिहानको खाजासम्म सडकमै खाएका थिए । पुल्चोकमा भएको प्रदर्शनमा अध्यक्ष प्रचण्डसहितका नेता कार्यकर्ताहरुले कार्यकर्तासँगै चिउरा दालमोठ खाएका थिए ।

त्यस्तै नेता नारायणकाजी श्रेष्ठ लगायतका कार्यकर्ताले बागबजारको सडकमा मकै भटमास खाइरहेको देखिन्थ्यो । त्यस्तै कोटेश्वरमा नेता लिलामणि पोखरेलले सडकमै खाना खाएका थिए ।

कार्यकर्तालाई सडकमै चिउरा,पानी र खाना !

नेकपा दाहाल-नेपाल समूहका कार्यकताले आम हड्‍तालमा सडकमै खाना पकाएर खाएका छन् । बिहीबार गरेको आम हड्‍तालमा कोटेश्‍वरमा खटिएका कार्यकर्ताले सडकमै खाना बनाएर खाएका हुन् ।

कोटेश्‍वरमा युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा, जनसाँस्कृतिक महासंघका अध्यक्ष सरल सहयात्री पौडेललगायत नेताहरूले खाना खाइरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भइरहेको छ ।

त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, पम्फा भुसाललगायत नेताहरू पुल्चोकको सडकमा चिउरा र पानी खाएर बसेका छन् । प्रधानमन्त्री केपी ओलीले संवैधानिक निकायमा आफुखुशी नियुक्ति र शपथग्रहण गराएको भन्दै दाहाल-नेपाल समूहले बिहीबार आम हड्ताल गरेको हो ।

बन्दका कारण बिहानैदेखि सडकमा गाडी चलेका छैनन् । केही सार्वजनिक गाडी भने बिहानी समयमा चलेका थिए । एम्बुलेन्‍स, अस्पतालका बस, खाद्यान्‍न, दुध, औषधिका गाडी, सञ्‍चारकर्मीका सवारी साधन चलेका छन् । ठाउँ ठाउँमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । कतिपय ठाउँमा प्रहरी र दाहाल-नेपाल समूहको घम्साघम्सी परेको छ ।