फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन हुन्छ, केपी ओलीको आयु सकिन्छ: प्रचण्ड

रामेछाप खबर संवाददाता

काठमाडाैं, २२ माघ ।

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने बताएका छन्। आफ्नो समूहले आयोजना गरेको हड्ताल सफल पार्न बिहीबार ललितपुरका सडकमा नाराबाजी गर्न पुगेका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै संयुक्त आन्दोलनका लागि राजनीतिक दलहरू, नागरिक समाज र अन्य पक्षसँग कुरा भइरहेको बताए।

‘हामी माघ २८ गते विशाल प्रदर्शन गर्दैछौं। त्यसपछि पनि प्रतिगमन सच्चिएन भने फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुन्छ। त्यसपछि केपी ओलीको आयु सकिन्छ,’ प्रचण्डले भने।

उनले भोलि ओली समूहले नारायणहिटी दरबारअगाडि गर्न लागेको सभा पञ्च र्‍याली भएको बताए। ‘२०४६ सालको जनआन्दोलन अघि पञ्चायतले पैसा दिएर लाखौं मान्छे ल्याएर र्‍याली गर्थ्यो। अहिले उहाँहरूले पनि त्यही गर्न लाग्नुभएको छ,’ प्रचण्डले भने,‘हामीले जनआन्दोलन गरिरहेका छौं। उहाँहरू पञ्च र्‍याली गर्दै हुनुहुन्छ।’

संवैधानिक निकायका पदाधिकारीलाई संसदीय सुनुवाइबिनै सपथ खुवाएर प्रधानमन्त्री ओलीले भद्दा प्रतिगमन गरेको उनले बताए। ‘मैले त यसलाई जंगली राज भनेको छु,’ प्रचण्डले भने। प्रचण्ड सहभागी जुलुसमा कार्यकर्ताहरूले ‘आदेश देऊ प्रचण्ड हामी लड्न तयार छौं’लगायत नारा लगाएका थिए।

बन्द सफल बनाउन भन्दै प्रचण्ड सडकमा

नेकपाको प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्ताल सफल बनाउन भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सडकमा निस्केका छन् ।
ललितपुरको सातदोबाटोमा आमहड्तालको आह्वान गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका हुन् । बुधवारको आम हड्तालको लागि पार्टीले विभिन्न नेताहरुलाई विभिन्न ठाउँको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ ।

सरकारले संवैधानिक निकायहरुमा जबरजस्ती प्रमुख र सदस्यहरु नियुक्त गरिएको भन्दै प्रचण्ड–नेपाल समूहले आज आमहड्ताल गरेको हो ।
यता काठमाडौंको कलंकीबाट नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य लगायतका नेता कार्यकर्ता पक्राउ परेका छन् ।