गोंगबुमा विहानै ट्याक्सीमा आगजनी

रामेछाप खबर संवाददाता

काठमाडौं, २२ माघ ।

काठमाडौंको गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहका अनुसार आज बिहीबार बिहान धादिङका खुम्ब नारायण श्रेष्ठको प्रदेश ३(०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको हो ।

सिंहका अनुसार दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेका थिए । उक्त ट्याक्सीमा पूर्ण रूपमा क्षति पुगेको छ । प्रहरीले ट्याक्सीमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ ।

सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्ताल प्रचण्ड–नेपाल पक्षले जनाएको छ ।

यात्रु बोकेर पोखराबाट काठमाडौंका लागि छुटे १० माइक्रो

ललितपुरको लगनखेलमा रोकिइराखेका माइक्रोबस। तस्बिर: कनकमणि दीक्षितको ट्वीटरबाट।ललितपुरको लगनखेलमा रोकिइराखेका माइक्रोबस। तस्बिर: कनकमणि दीक्षितको ट्वीटरबाट।
नेकपा प्रचण्ड–नेपाल समुहले आयोजना गरेको आमहड्तालका दिन १० वटा माइक्रोबस पोखराबाट काठमाडौंका लागि छुटेका छन्। पोखराबाट यात्रुवाहक माइक्रो बस काठमाडौंका लागि छुटेको र कास्कीबाट कटिसकेको प्रहरीले जनाएको छ। बन्दका कारण अहिलेसम्म कुनै अप्रिय घटना हुन नपाएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए।

‘काठमाडौं जाने माइक्रोबस बिहीबार बिहानै छुटिसकेको छ, तिनलाई हामीले सुरक्षा दिएर पठायौं’, हमालले भने, ‘केही निजी सवारीहरू चलेका छन्, अप्रिय घटना केही छैन ।’

बन्दका कारण पोखरा बजार र सडक बन्द छन्। तरकारी तथा फलफूल, पानी, दुध, इन्धनलगायत अत्यावश्यक सेवाका सवारी र पसल भने खुला नै छन्।

बन्दमा अप्रिय घटना हुन नदिने अन्य दिनभन्दा धेरै प्रहरी परिचालन गरेको डिएसपी हमालले बताए। कास्की जिल्लामा मात्रै ६३५ बढी प्रहरी परिचालन गरेको उनले जानकारी दिए। ‘राजमार्ग पुरै कभर गरेका छौं, सबै चोकहरुमा प्रहरी छ’, डिएसपी हमालले भने, ‘अप्रिय घटना हुन नदिन हामी सजग छौं ।’