कहाँ हराइन् किम जोङ उनकी पत्नी ?

रामेछाप खबर संवाददाता


उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी पत्नी री सोल जु विगत एक वर्षदेखि सार्वजनिक स्थानमा नदेखिएको एनके न्युजले खबर दिएको छ ।

उनलाई पछिल्लोपटक सन् २०२० को जनवरी २५ मा देखिएको थियो । आफ्ना पतिसँग उनलाई राजधानी प्योङयाङको एक थिएटरमा नाटक हेर्न गएको देखिएको थियो ।

एक वर्षदेखि नदेखिनुको कारण स्पष्ट हुन सकेको छैन तर कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनमा नर्थ कोरियन रिसर्च डिभिजनका निर्देशक होङ मिनले कोरोनाभाइरस महामारीले गर्दा उनी नदेखिएको हुन सक्ने बताएका छन् ।

‘कोभिड–१९ का कारण उनी गायब भएकी हुन सक्छिन् । साना बच्चाकी आमा भएको नाताले उनी सार्वजनिक स्थानमा देखिँदा संक्रमणको सम्भावना बढ्छ,’ उनले भनिन् । ‘किम आफैं पनि विगत एक वर्षमा एकदमै कम बाहिरतिर निस्केका थिए ।’रीले किमसँग सन् २००९ मा विवाह गरेकी थिइन् तर उत्तर कोरियाको सरकारी मिडियाले उनलाई सन् २०१२ मा मात्र पहिचान दिएको थियो ।