प्रचण्ड–नेपाललाई ओलीको प्रश्न– जनताले के बिगार गरे र नेपाल बन्द ?

रामेछाप खबर संवाददाता

काठमाडाैं, २१ माघ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले जनतालाई दुःख दिनको लागि नेपाल बन्दको घोषणा गरिएको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहको आलोचना गरेका छन् ।
नेपाल भूमिहीन सुकुम्बासी संगठनले बुधवार काठमाडौंमा आयोजना गरेको भेलालाई सम्वोधन गर्दै ओलीले जनतालाई दुःख दिनको लागि मात्र नेपाल बन्द गरिएको आरोप लगाएका हुन् ।

‘उनीहरु किन छटपटाएका छन् ? नेपाल बन्द रे, जनताले के बिगार गरेर नेपाल बन्द ? पार्टी छाडेर जाने अनि बन्द गरेर जनतालाई किन दुःख दिनुपर्यो नेपाल बन्द गरेर ? बन्द भनेको के ? पसल खोल्न नपाउने, किन्न जान नपाउने, अफिस जान नपाउने, स्कुल जान नपाउने’, ओलीले भने, ‘बन्द भनेको जनतालाई दुःख दिन । त्यो किन ? के को लागि गर्नुपर्यो बन्द ? जनताले बन्द गरेको होइन, जनताले चाहेको होइन ।’
देश निर्वाचनतर्फ लागेपनि प्रचण्ड नेपाल समूह विघटित संसद पुनःस्थापनाको कुरा गरेर कांग्रेस सभापति शेरबहादुर देउवाकोमा धाएको ओलीले टिप्पणी गरे ।

‘माधव नेपाल अस्ति १८ गते देउवाकोमा गएका थिए, अब २ वर्षको प्रधामनन्त्री तपाईं हो, लेखेर दिन्छौ, सही गरेर दिन्छौँ, ल्याप्चे नै भयो भनेछन् । बाहिर निस्केर क्रान्तिको कुरा गरेछन्, कम्युनिस्ट सरकार फोर्ने, अन्त गएर घुँडा टेकेर प्रणाम गरेर प्रधानमन्त्री दिन्छु, ल्याप्चे लाउँछु भनेर क्रान्तिकारीको गफ दिने ?’ ओलीले भने, ‘उहाँहरु जे हो त्यही प्रकट हुँदैछ, मुकुण्डो खुइलियो ।