स्कुलमा उल्कापिण्ड खसेपछि नासाका वैज्ञानिक उत्साहित हुँदै दौडेर पुगे, जिल्ल परेर फर्किए

रामेछाप खबर संवाददाता

काठमाडौं।

अस्ट्रेलियाको उत्तरी क्वीन्सल्याण्डको एक प्राथमिक स्कुलको खेलमैदानमा आकाशबाट उल्कापिण्ड खस्यो । आसपासको क्षेत्रमा यो खबर डढेलोझैं फैलियो । मैदानमा उल्कापिण्डका कारण धाँस उखेलिएको थियो । यो खस्दा खाल्डो परेको थियो र पिण्डबाट धुवाँ निस्किरहेको थियो । खबर थाहा पाउनासाथ नासाका वैज्ञानिक उत्साहित हुँदै जाँचका लागि पुगे तर उनीहरु जिल्ल परेर फर्किनुपर्यो ।

उत्तरी क्वीन्सल्याण्डको मालंडा स्टेट स्कुलका प्रिन्सिपल मार्क एलनका अनुसार यो घटनाका विषयमा सोध्न उनीहरुलाई संसारभरबाट फोन आइरहेका छन् । डेलीमेलका अनुसार पिण्ड खसेपछि त्यो ठाउँ घेराबन्दी गरिएको थियो । पुलिसले सुरक्षा दिएको थियो र नासाका वैज्ञानिक जाँचका लागि पुगेका थिए । जब वैज्ञानिकहरुले स्कुलका शिक्षक तथा अन्यसँग सोधपुछ गरे र उल्कापिण्डको जाँच गरे त्यसपछि उनीहरु जिल्ल परे ।

मार्क एलनले वैज्ञानिकहरुलाई यो अन्तरिक्षबाट खसेको उल्कापिण्ड नभएको बताएका थिए । यो त स्कुलले विद्यार्थीहरुलाई उल्कापिण्डको बारेमा जानकारी दिनको लागि गरेको प्रयोगात्मक कक्षा थियो । प्रिन्सिपल मार्क एलनका अनुसार विद्यार्थीहरुलाई उल्कापिण्ड खसेको बारे रिपोर्ट तयार गर्न भनिएको थियो । विद्यार्थीहरुलाई प्रत्यक्षदर्शीसँग कुरा गर्न र पुलिसको सक्रियताबारे पनि रिपोर्टमा उल्लेख गर्न भनिएको थियो । यसको लागि पुलिसको पनि सहयोग लिइएको थियो ।

सामाजिक संजालमा भने यसबारे विस्तृतमा नबताइ स्कुलमा एउटा उल्कापिण्ड खसेको भन्दै पोस्ट गरिएको थियो । सामाजिक संजालमा पोस्ट देखेपछि नासाका वैज्ञानिक त्यहाँ पुगेका थिए तर जब वास्तविकता थाहा भयो त्यसपछि भने उनीहरु चकित परे । उल्कापिण्डको ल्याण्डिङ एकदमै वास्तविक देखिएको थियो त्यसैले सबै झुक्किएका थिए । एउटा सानो स्कुलको कक्षालाई विश्वले यसरी हेर्नेछ भन्ने कसैलाई अनुमान थिएन ।