नेपाली सेनाले बख्तरबन्द बाहिर निकाल्नुको यस्तो छ सन्देश र अर्थ !

रामेछाप खबर संवाददाता

काठमाडौं, २० माघ ।

नेपाली सेनाले नियमित अभ्यास अन्तर्गत सोमवार राति चक्रपथ र माघ २१ गते बिहान काठमाडौंदेखि धुलिखेलसम्म सेनाको बख्तरबन्द गाडीहरू बाहिर निकाल्दैछ । देशमा राजनीतिक अन्योल भएको समयमा सेनाले निकाल्न लागेको बख्तरबन्दले के सन्देश दिन खोजेको हो भन्ने खालको चर्चा हुन थालेको छ । नेपाली सेनाले सामाजिक सञ्जाल ट्विटरमा नियमित अभ्यासको योजना अनुसार बख्तरबन्द निकालिएको जनाएको छ ।

‘नेपाली सेनाको नियमित अभ्यास अनुसार माघ १९ गते राति बख्तरबन्द गाडीहरूले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको । त्यसैगरी ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरूमा बख्तरबन्द गाडीहरूको अभ्यास गर्ने योजना रहेको जानकारी गराउँँँँदछौं,’ सेनाले सामाजिक सञ्जाल ट्विटरमा लेखेको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलका अनुसार यस्ता खालमा अध्यासहरू अघिल्लो वर्षमा पनि हुने गरेको थियो । सार्वजनिक रूपमा जानकारी नदिँदा नकारात्मक टिप्पणी हुने गरेकाले यसपालि जानकारी दिएको प्रवक्ता पौडेलले बताए ।

‘सेनाले व्यारेकभित्र गरेको अभ्यासलाई अझ निखार्नको लागि सडकमा पनि अभ्यास गर्नेछ,’ सहायक रथी पौडेलले लोकान्तरसँग भने, ‘हामीले राति वा बिहानको समयमा सवारी जाम नहुने हिसाबले गर्न लागेका छौं ।’

सोमवारै नेपाली सेना बख्तरबन्द बाहिर निकाल्दा सामाजिक सञ्जालहरूमा भने १६ वर्ष अगाडि तत्कालीन राजा ज्ञानेन्द्रले गरेको राजनीतिक ‘कु’ गरेको दिन भन्दै अनेकन टिप्पणीहरू गरेका छन् ।

तत्कालीन राजा ज्ञानेन्द्रले माघ १९ गतेकै दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम भएको भन्दै आफ्नो अध्यक्षतामा मन्त्रिपरिषद् गठनको घोषणा गरेका थिए । देशमा राजनीतिक अस्थिरता भएको समयमा सेनाले बख्तरबन्द निकाल्न थालेपछि नागरिकमा चासो देखिएको छ ।

समय उपयुक्त भएन : डीआईजी ठकुरी

देशको राजनीतिक अवस्थाले गर्दा समय, घटना, परिस्थिति र मितिले गर्दा उपयुक्त समय नभएकाले नकारात्मक सन्देश जानु स्वाभाविक भएको नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीले बताए ।

‘सेनाले अभ्यास भनेको छ तर समय, परिस्थिति र मिति भने उपयुक्त समय भएन,’ डीआईजी मल्लले लोकान्तरसँग भने, ‘समय परिस्थितिले गर्दा जाने सन्देश पनि फरक जान्छ ।’

नेपालमा भएको राजनीतिक अस्थिरता, भारतमा भएको कृषि कानून विरुद्धको आन्दोलन र सोमवारै म्यान्मारमा सैनिक ‘कु’ भएको समयमा सेनाले गर्न लागेको अभ्यासले अर्कै सन्देश गएको पूर्व डीआईजी ठकुरीले बताए ।

निकाल्नुपर्ने परिस्थिति देखिँदैन : पूर्व रक्षा सचिव

देशको राजनीति धेरै अन्योल नभएको अवस्थामा बख्तरबन्द गाडीहरू बाहिर निकाल्ने परिस्थिति नरहेको पूर्व रक्षा सचिव आत्माराम पाण्डेले बताए । ‘यो परिस्थिति सेनाले अहिले बख्तरबन्द निकाल्ने होइन । यस्तो समयमा अर्कै सन्देश जान्छ,’ पूर्व रक्षा सचिव पाण्डेले लोकान्तरसँग भने, ‘तर यसलाई संयोग मान्नुपर्छ ।’

हेर्ने आँखामा फरक : पूर्व रथी बालानन्द शर्मा

देशको रक्षाका लागि खटिने नेपाली सेनाले आवश्यक परेको खण्डमा सुरक्षा दिनको लागि आफूहरूसँग भएको सामान र हातहतियार दुरुस्त राख्नुपर्ने भएकाले बख्तरबन्दहरू खिया नलागोस् भनेर बाहिर निकालेको नेपाली सेनाका पूर्व रथी बालानन्द शर्माले बताए ।

‘धेरै लामो समयसम्म सवारी र हातहतियारहरू राखिराख्दा बिग्रन सक्छन्, त्यसलाई दुरुस्त राख्न पनि चलाउनुपर्छ, त्यसकै लागि बाहिर निकालिएको हुनसक्छ,’ पूर्व रथी शर्माले लोकान्तरसँग भने, ‘समय त फरक पर्ला तर हेर्ने आँखामा भर पर्छ ।’

देशको राजनीतिक अवस्था र अन्य परिस्थितिले पनि भोलि सेनाको आवश्यकता नपर्ला भन्न सकिँदैन र सरकारले घोषणा गरेको निर्वाचन पनि नजिकै आएको अवस्थामा सामानहरूलाई दुरुस्त राख्नको लागि तयारी भएको रूपमा लिनुपर्ने पूर्व रथी शर्माले लोकान्तरलाई बताए ।