दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस दुर्घटना

रामेछाप खबर संवाददाता

काठमाडौं, २० माघ ।

दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस सिन्धुपाल्चोकको ११ किलो क्षेत्रमा दुर्घटना भएको छ ।

काठमाडौंतर्फ आउँदै गरेको अरनिको यातायातको बा २ ख २७८९ नम्बरको बस दुर्घटना भएको सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले जानकारी दिएका छन।

उनका अनुसार दुर्घटना भएको क्षेत्र मुढेबाट ११ किलोमिटर अगाडि हो । हालसम्म कति घाइते भए भन्ने यकिन भइनसकेको उनले बताएका छन । कम्तिमा १० जनालाई स्थानीय अस्पतालमा पुर्‍याइएको उनले जनाएका छन ।

मुढेस्थित चेकपोष्टमा उक्त बसमा १५ जना सवार रहेको टिपाइएको थियो । ‘ओरालो भएको ठाउँमा दुर्घटना भएको हो, कारण खुलिसकेको छैन,’ अधिकारीले भने ।

ताप्लेजुङमा आगलागी हुँदा पाँच घर जले

ताप्लेजुङमा आगलागीबाट पाँचवटा घर जलेका छन् । ताप्लेजुङको सिरिजंगा गाउँपालिका–१ सिनामको पञ्चमी छेउमा मंगलबार दिउँसो भएको आगलागी बाट पाँचवटा घर जलेका हुन् ।

आगलागी बाट स्थानिय शान्तिराम गिरी, दिपेन्द्र गिरी, टेकनाथ गिरी र उनका छोरा दिपक गिरी गरी पाँचवटा घर जलेका हुन् । खरमा बच्चाले लाइटर सल्काउँदा आगलागी भएको अनुमान गरिएको छ ।

५० भारी खर राखेको ठाउँबाट सुरु भएको आगो कटेरो हुँदै घरहरुमा सल्किएको र क्षतिको विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।