काठमाडौंका पाँच काउन्टरबाट मार्सी चामल बिक्री

रामेछाप खबर संवाददाता

काठमाडौं, १९ माघ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लाको मार्सी धानको चामललाई ब्रान्डिङ गरेको छ । कम्पनीले मार्सी चामललाई ‘नेपाल फुड’ ब्रान्ड गरी बिहीबारदेखि काठमाडौँमा बिक्री वितरण सुरु गरिसकेको छ । मार्सी चामल कम्पनीले पहिलो चरणमा सुर्खेतबाट २७० क्विन्टल खरिद गरेर काठमाडौँ उपत्यकाका पाँच बिक्री काउन्टरबाट बिक्री शुरु गरेको हो ।

मार्सी चामल तीन दिन अर्थात् आइतबारसम्म २६८ किलो बिक्री भएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए । उनका अनुसार बिहीबार ९३ किलो, शुक्रबार १४४ किलो र आइतबार १३१ किलो चामल बिक्री भएको छ । उनले कम्पनीले यसअघि बिक्रीवितरण गर्दै आएको अन्य चामल जस्तै मार्सीको चामल बिक्री हुने अपेक्षा गरिएको बताए ।

खाद्य कम्पनीका काठमाडौँ उपत्यकाका पाँच बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकमा सो चामल राखिएको छ ।

कम्पनीले प्रतिकिलो मार्सी चामल २२५ मा बिक्री गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको कार्यक्रमभित्र रहेको जुम्लाको मार्सी धान खरीदको प्रक्रिया शुरु गरेको छ । धान खरिद प्राथमिक समितिले जुम्लाको मार्सी धान खरिद गर्न प्रतिकिलो १०२ र पैसा ५० तथा चामल प्रतिकिलो १६२ र पैसा ५० निर्धारण गरेको छ ।