एकै खेलमा सावित्राको १२ गोल

रामेछाप खबर संवाददाता

काठमाडौं, १९ माघ ।

महिला राष्ट्रिय लिग फुटबलअन्तर्गत सोमबार भएको खेलमा शसस्त्र प्रहरी बल-एपीएफ क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२-० गोलले हरायो।

सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा एपीएफकी स्टार स्ट्राइकर सावित्रा भण्डारी एक्लैले १२ गोल गरिन्। अनु लामाले पाँच गोल थपिन्। अनिता बस्नेतले पनि ह्याट्रिक पुरा गर्दै तीन गोल गरिन्। रेनुका नगरकोटी र सरु लिम्बुले एक एक गोल गरे।

सावित्राले ५ औँ मिनेटमा खेलको पहिलो गोल गरेकी थिइन्। पहिलो हाफमा पाँच गोल गरेकी सावित्राले दोस्रो हाफमा सात गोल थपेकी थिइन्। उनले ५, ३२,३३,३४, ३८, ४७, ५५, ६२, ६३, ७२, ७९ र इन्जुरी समयमा गोल गरेकी थिइन्।

प्रतियोगितामा ६ खेल खेलेको एपीएफले सबै जित्दै १८ अंक जोडेको छ। उसले प्रतियोगितामा ४३ गोल गरेको छ भने एक गोल पनि ब्यहोरेको छैन। दोस्रो स्थानमा रहेको नेपाल आर्मीको त्रिभुवन आर्मी क्लबको पाँच खेलमा १० अंक छ। आर्मीले २२ गोल गरेको छ भने दुई गोल ब्यहोरेको छ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।