चुनाव एक दिन पनि पर सर्दैन : प्रधानमन्त्री

रामेछाप खबर संवाददाता

काठमाडौं, १९ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा निर्वाचन आयोग लागिसकेकाले १ दिन पनि पर नसर्ने बताएका छन् । सोमबार धनुषाको ढल्केबरमा विद्युतको सब–स्टेसन उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने,‘चुनावको तयारीमा लागिहाल्नुस । तोकिएकै समयमा चुनाव हुन्छ । एकदिन पनि पर सर्दैन ।’

आफूलाई मधेसविरोधी भनेर प्रचार गरिएकोमा पनि चित्त दुखाएका ओलीले आफुले नै मधेसमा बाटो, ढल र सिंचाइ बनाएको बताए । तराईमा सिंचाइ गर्न पहाड छेडेर कोसी ल्याउल लागेको उनले बताए । पार्टीभित्र उपद्रो गर्नेहरु अलग भएको उनको भनाई थियो ।

प्रधानमन्त्रीले गरे नेपालकै ठूलो ढल्केबर सबस्टेसनको उद्घाटन

धनुषा । प्रधानमन्त्री केपी ओलीले नेपाल विद्युत् प्राधिकरणको ४ सय केभी क्षमताको सबस्टेसनको उद्घाटन गरेका छन् । सोमबार धनुषाको ढल्केबर पुगेका प्रधानमन्त्री ओलीले सबस्टेसन परिसरमै रहेको २२०/१३२ केभीको अर्को सबस्टेसनको पनि उद्घाटन गरेका हुन् ।

ढल्केबर सबस्टेसन नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा बनेको नेपालकै पहिलो ४ सय केभीको सबस्टेसन हो । २२०/१३२ केभीको सबस्टेसन विश्व बैंकको सहुलियत ऋणमा सरकार र प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको हो ।

प्रधानमन्त्री ओलीसँगै ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र सहरी विकास मन्त्री प्रभु साह पनि ढल्केबरस्थित सवस्टेसनको उद्घाटन कार्यक्रममा सहभागी भएका छन् ।