ओलीको दिनगन्ती सुरु भयो, सरकार पाकेको फलझैँ झर्छ : झलनाथ खनाल

रामेछाप खबर संवाददाता

काठमाडौं, १८ माघ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको दिनगन्ती सुरु भइसकेको बताएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध आज माइतीघर मण्डलमा आयोजित दाहाल-नेपाल समूहको माइतीघर मण्डलमा भएको धर्ना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

वरिष्ठ नेता खनालले प्रतिनिधि सभा पुनःस्थापनाको विकल्प नभएको पनि उल्लेख गरे। ‘नेपाली जनताले प्राप्त गरेका अधिकार र संविधानको रक्षाको निम्ति संसद पुनर्स्थापना गर्नुपर्छ’, उनले भने। खनालले प्रधानमन्त्री ओली फेल भइसकेको पनि बताए। ‘प्रधानमन्त्री ओली फेल भइसकेका छन्। उनको दिनगन्ती शुरु भइसकेको छ’, उनले भने, ‘अब सरकार पाकेको फलझैँ झर्ने निश्चित छ।’

कोरोनाविरुद्धको खोप अभियान : पाँच दिनमा ८८ हजारले लगाए खोप

काठमाडौँ । कोरोनाविरुद्धको खोप अभियानको पाँचौ दिनसम्म देशभर ६४ हजारभन्दा बढीले कोरोना (कोभिड १९) विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार विज्ञप्ती जारी ७७ जिल्लामा कुल ८८ हजार ७ जनाले खोप लगाएको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पाँचौ दिन सम्म प्रदेश १ मा १२ हजार ७६३, प्रदेश २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६८२, गण्डकी प्रदेशमा १२ हजार ३११, लुम्बिनी प्रदेशमा १० हजार ७६९, कर्णाली प्रदेशमा ५ हजार ५५६ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ८७७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रवक्ता डा गौतमले खोप पाएका व्यक्तिहरुमा हालसम्म सामान्य असर देखिएपनि केहि समयमा आफै ठिक भएको बताएका छन् । हालसम्म कसैलाई पनि जटिल किसिमको समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै मन्त्रलायले सञ्चार माध्यमलाई खोप लगाएपछिको असर बारे पुष्टि गरेर मात्र समाचार प्रकासित गर्न आग्रह गरेको छ ।

साथै पछिलो चरणको प्राथमिकतामा परेकाहरुले काउन्सिलको दर्ता प्रमाणपत्र, आधिकारिक परिचय पत्र, संस्थाबाट प्रमाणीकरण गरेका विवरण र अन्य समुहको हकमा सम्बन्धित कार्यालयको सिफारिसपत्रसहित सम्बन्धित स्वास्थ्य कार्यालयमा नाम दर्ता गरेर पाँच दिन भित्र खोप लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

बुधबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत देशभरका ३०० खोप केन्द्रहरुमार्फत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिहरुलाई खोप लगाउने सरकारको लक्ष्य छ ।

पहिलो चरणमा कसलाई लगाइदै छ :

पहिले चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने छ ।

नेपालमा अहिले कोभिड–१९ को सङ्क्रमण दुई लाख ७० हजारभन्दा बढी जनामा देखिएको छ । सङ्क्रमणबाट दुई हजार २७ जनाको निधन भइसकेको छ ।

कस्तो असर हुनसक्छ ?

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले ०.५ मिलीलिटर (मिली) मात्रा खोप प्रदान गरिने जानकारी दिए । त्यसपछि पहिलो खोप लगाएको चार हप्तापछि अर्को मात्राको खोप दिइने छ । खोप देव्रे पाखुराको माथिल्लो बाहिरी भागमा ९० डिग्री कोण बनाएर (मासुभित्र) दिइने छ ।

खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुनसक्ने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, थकाइ र आलस्य महसुस हुने तथा वाकवाक लाग्नेजस्ता समान्य असर देखिन सक्ने उनले बताए ।